निर्वाचित भएको प्रमाणपत्र उपलब्ध गराउन कारागार प्रशासनमार्फत माग
आत्मसमर्पण गरेपछि थुनामा राखिएका रेशम चौधरीले रिहाइको माग गर्दै उच्च अदालत जाने तयारी गरेका छन् । मंगलबार कैलाली जिल्ला कारागारमा सञ्चारकर्मीसँग कुरा गर्दै चौधरीले भने, ‘पुर्पक्षका लागि थुनामा राख्ने आदेशविरुद्ध उच्च अदालतमा अपिल गर्छु ।’
सोमबार कैलाली जिल्ला अदालतसमक्ष आत्मसमर्पण गरेका चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरिएको थियो । उनले अदालतसमक्ष साधारण तारेखमा रिहाइ गर्न अपिल गरेका थिए ।
उनले साधारण तारेखमा रिहाइको माग गरी उच्च अदालत दिपायलमा निवेदन दिने तयारी गरेको बताएका छन् । उनले भने, ‘कानुन व्यवसायीसँग छलफल गरिरहेको छु, भाग्ने भए अदालतमा उपस्थित हुने थिइनँ । त्यसैले उच्च अदालतलाई गुहार्छु ।’
टीकापुर घटनाका मुख्य योजनाकार भनेर चौधरीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र चोरी–डकैतीमा मुद्दा दर्ता गरिएको छ । टीकापुर घटनामा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित नौजनाको मृत्यु भएको थियो । उनी प्रहरीको फरार सूचीमा थिए । चौधरी फरार सूचीमा रहेकै वेला कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्् । तर, निर्वाचन आयोगले अझै प्रमाणपत्र दिएको छैन ।
निर्वाचित भएको प्रमाणपत्र माग
उनले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र दिन माग गरेका छन् । त्यसका लागि मंगलबार कैलाली जिल्ला कारागार प्रशासनमार्फत निर्वाचन आयोगलाई निवेदन दिएका हुन् । निवेदनमा प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरिएको छ ।
उनको निवेदन जिल्ला प्रशासन कार्यालय हुँदै मंगलबार नै क्षेत्रीय निर्वाचन कार्यालय धनगढी पुगेको थियो । क्षेत्रीय निर्वाचन कार्यालय प्रमुख मोहनप्रसाद अर्यालले चौधरीको प्रमाणपत्र निर्वाचन आयोगमा पठाएकाले क्षेत्रबाट दिन नसकिने व्यहोराको पत्र कारागार प्रशासनलाई पठाएको बताए ।
चौधरी भेट्न कारागारमा घुइँचो
चौधरीलाई कैलाली जिल्ला कारागारको ‘कैदी नं. ४’ कोठामा राखिएको छ । चौधरीलाई सामान्य कैदीसरह नै राखिएको कारागार प्रशासनले जनाएको छ ।
टीकापुर घटनामै थुनामा रहेका फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारूलाई छुट्टै कोठामा राखिएको छ । दुवैजनाबीच मंगलबार एक घन्टा छलफल भएको छ । उनले कारागार प्रशासनसँग आग्रह गरेपछि भेट गर्न दिइएको थियो ।
यसैबीच उनलाई भेट्न मंगलबार बिहानैदेखि कारागारमा घुइँचो लाग्यो । राष्ट्रिय जनता पार्टीका नेता–कार्यकर्ता कारागार पुगे । उनका आफन्त पनि कारागार पुगेका थिए । (नयाँ पत्रिका)