रामेछाप — भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले प्रदेश राजधानी अपायक स्थान हेटौंडामा भएको भन्दै केही समयै सर्ने बताएका छन् ।
‘हेटौंडा छेउ भयो, कसैलाई पायक पर्दैन,’ स्थापितले भने, ‘अब काठमाडौं आसपास राजधानी सर्छ ।’ प्रदेशको राजधानी सार्ने विषयमा आफूले अठोट लिइसकेको उनले बताए ।
स्थापितले बढीमा डेढ महिनाभित्र राजधानी सर्ने दाबी पनि गरे । केही दिनअघि उक्त प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाबाट प्रदेश राजधानी अन्यत्र नसर्ने दाबी गरेका थिए ।
रामेछापको मन्थलीमा मंगलबार आदिवासी माझीहरुको नदीपूजामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्थापितले उक्त कुरा बताएका हुन् । उनले माझी भाषालाई प्रदेश भाषाको सूचीमा समावेश गर्ने प्रतिबद्धता पनि जनाए । माझी जातिको पेसा र व्यवसायका लागि सीप विकास गराउन प्रदेश सरकारले कार्यक्रम ल्याउने उनले बताए । भनि कान्तिपुरमा खबर छ ।
माझी उत्थान संघ रामेछापका अध्यक्ष इन्द्र माझीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य शान्तिप्रसाद पौडेल र रिता माझीले जातीय संस्कार र पहिचान संरक्षणका लागि प्रदेशले कानुन बनाएर अघि बढ्नुपर्ने बताएका थिए । मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले माझी जाति नगरपालिकाका विशेष जाति भएकाले आगामी वर्षदेखि कानुन बनाएर नदीपूजाका दिन नगरपालिकामा सार्वजनिक बिदा दिने वचन दिए ।
रामेछापको तामाकोशी र सुनकोशी किनारमा बसोबास गर्ने आदिवासी माझी समुदायले कोशीलाई आफ्ना भान्जाभान्जी भन्दै हरेक वर्ष पूजा गर्ने गर्छन् । माझीहरु नदीपूजालाई आफ्नो भाषामा ‘लदि पूजा’ भन्ने गर्छन् । संस्कृतिअनुसार नदीपूजालाई अर्को जातले हेर्नु नहुने परम्परा थियो ।
तर पछिल्ला केही वर्षमा अन्य जातिले पनि माझीको उक्त पूजा अवलोकन गर्न पाउँछन् । नदीपूजा माझीहरुको महत्त्वपूर्ण पर्वको रूपमा रहँदै आएको छ । माछा मार्ने र काठको डुंगा चलाएर आफ्नो जीविका चलाउने माझी जातिको पेसा संकटमा छ । विकासको क्रमसँगै नदीमा जताततै पुल बनेका छन् । माझीहरुले चलाउँदै आएको काठका डुंगा लोप भइसकेका छन् ।