काठमाडौं – कलाकार हरिवंश आचार्यलाई नचिन्ने सायदै होलान् । उनले हास्यव्यंग्य कलाकारितामा लामो समय बिताइसकेका छन् । आचार्य यस क्षेत्रमा छुट्टै छवि भएका व्यक्तित्व पनि हुन् । उनले सामाजिक सन्देश दिनेखालका कैयौँ चलचित्र र हास्यव्यंग्य टेलिशृंखलामा अभिनय गरिसकेका छन् । चलचित्रमा पनि उनी फरक पात्रका रूपमा प्रस्तुत हुँदै आएका छन् । यसरी फरक–फरक पात्रमा अभिनय गर्ने हरिवंशका थुप्रै फ्यान छन् । तिनै फ्यानबारे यहाँ चर्चा गरिएको छ :
आजभन्दा ९ वर्षअघिको कुरा हो । एक दिन टेकुमा साथीको घरमा खाना खान गएको थिएँ । त्यसवेला मेरो छोरा र श्रीमती पनि सँगै थिइन् । त्यो साथीको घरमा गाडी जाँदैनथ्यो । त्यसैले हामीले बाटोमै गाडी राखेर गएका थियौँ ।
एकजना अपरिचित महिला आएर मलाई झ्याम्म अंकमाल गरिन् । म जिल्ल परेँ । त्यसपछि त उनले मसँग बिहे गर्छु भन्न थालिन् । श्रीमती सँगै थिइन् । अनि मैले विवाह भइसकेको छ उनी मेरी श्रीमती हुन् भनेँ । त्यति भन्दा पनि म कान्छी श्रीमती भएर बस्छु भनेर हैरान पारिन् । उनलाई त्यहाँका अरू महिलाले समातेर लगेपछि हामी उम्कियौँ ।
महिलाले दाइ भन्दिनँ भनेपछि…
काठमाडौंमा एकजना महिला हुनुहुन्थ्यो । उहाँलाई म निकै मन पर्दोरहेछु । उहाँसँग मेरो विवाह भइसकेपछि भेट भएको थियो । अनि उहाँले मलाई भेट भएको समयमा यदि तपाईंको विवाह नभएको भए म तपाईंसँग विवाह गर्थेँ, कुनै हालतमा पनि छाड्दिनथेँ भन्नुभयो । मैले ठीकै छ अब दाजुबहिनीको रूपमा बसौँ न त भन्दा उहाँले दाइ त कुनै हालतमा नभन्ने बताउनुभयो । म त छक्क परेँ ।
बिपी, गणेशमान, किसुनजी र मदन भण्डारी मेरा फ्यान
मेरो फ्यानहरू विभिन्न थरीका हुनुहुन्छ । त्यसमध्ये कांग्रेसका संस्थापक नेताहरू स्वर्गीय बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र एमाले नेता स्वर्गीय मदन भण्डारी मेरो फ्यान हुनुहुन्थ्यो । गणेशमान दाइको श्रीमती मंगलादेवी भाउजूले हामीलाई भेटेपछि ‘बाले त तपाईंहरूको क्यासेट सुनिरहनुहुन्छ’ भन्नुहुन्थ्यो । मदनकृष्ण दाइलाई र मलाई उहाँको घरमा जान खुला थियो ।
त्यस्तै, ०३७ मा हामीले प्रज्ञा भवनमा यमलोक भन्ने प्रोगाम देखाएका थियौँ । त्यहाँ साहित्यकारको रूपमा बिपी कोइराला पनि प्रोगाम हेर्न आउनुभएको थियो । प्रोगाम हेरेपछि नातिकाजी दाइसँग यी दुईजनाको प्रस्तुति देखेर म त यिनीहरूको फ्यान भएँ भन्नुभएछ । तर, मैले उहाँलाई भेट्नचाहिँ पाइनँ । कृष्णप्रसाद भट्टराई पनि मेरो प्रस्तुति हेर्न आइरहनुहुन्थ्यो ।
एकपटक पद्मरत्न तुलाधरको छोरीको विवाहमा मैले मदन भण्डारीलाई भेटेको थिएँ । उहाँले त्यहाँ हामीलाई भेट्नुभयो र हात मिलाएर ‘म तपाईंहरूको एकदमै ठूलो फ्यान हुँ, भूमिगत भएको समयमा तपाईंहरूको क्यासेट धेरै सुन्थ्यौँ’ भन्नुभयो । भेट भएको १५ दिनपछि उहाँ दुर्घटनामा परेर बित्नुभयो । ( गज्जबबाट)