एनएसटी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल उपाधि एपीएफ र आर्मीलाई



२० फागुन २०७४, काठमाडौं ।

चौथो एनएसटी–एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेका छन् । आर्मी पुरुष र एपीएफले महिलातर्फको उपाधि जितेका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिलातर्फको उपाधि भिडन्तमा एपीएफले चिरप्रतिद्वन्द्वी शिवम् न्यु डायमन्ड एकेडेमीलाई ३–२ सेटमा स्तब्ध बनायो । निकै प्रतिस्पर्धात्मक खेलमा लगातार दुई सेट हारेर पनि उत्कृष्ट पुनरागमन गर्दै विभागीय टोली एपीएफले उपाधि जितेको हो । एपीएफले शिवम् न्यु डायमन्डलाई १६–२५, १६–२५, २५–१४, २५–१३ र १५–९ मा पाखा लगायो । एपीएफको जितमा सरस्वती चौधरीले स्पाइकबाट २३, ब्लकमा दुई र सर्भिसबाट एक अंक जोडिन् । यसैगरी नेबिका चौधरीले स्पाइकबाट १६ अंक बटुलिन । शिवम् न्यु डायमन्डकी प्रतिभा मालीले स्पाइकबाट ३० तथा सर्भिसबाट तीन अंक जोडिन् । यस्तै मञ्जु गुरुङले स्पाइकबाट १२ अंक बटुलिन । तेस्रो स्थान भने नेपाल पुलिसले हासिल गर्यो । आर्मीलाई ३–२ को सेटमा हरायो । निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसले २५–२३, २२–२५, २४–२६, २५–१२, १५–१३ को कठिन जित निकाल्यो ।

यसैगरी पुरुषतर्फको उपाधि भिडन्तमा आर्मीले हेल्प नेपाल स्पोर्टस् क्लबलाई ३–० को सेटमा पाखा लगायो । एकपक्षीय खेलमा आर्मीले २५–१५, २५–२१, २५–१४ को जित निकाल्यो । भारतीय खेलाडी चल्न नसक्दा हेल्प नेपालले आर्मीलाई उपाधि सुम्पिन बाध्य भयो । आर्मीको जितमा मानबहादुर श्रेष्ठले स्पाइकबाट १७ तथा सर्भिसमा तीन अंक जोडे । यसैगरी धनबहादुर भट्टले स्पाइकबाट १३ अंक बटुले । हेल्प नेपालका अमृत केसीले स्पाइकमा ९ तथा ब्लकबाट एक अंक जोडे । तेस्रो स्थानको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–० को सेटमा पराजित गर्यो । एपीएफले पुलिसमाथि २५–२१, २५–११ र २५–१९ को सहज जित निकाल्यो ।

उपाधि विजेता आर्मीले एक लाख ५० हजार प्राप्त गर्यो । उपविजेता हेल्प नेपालले एक लाख रुपैयाँमा चित्त बुझायो । तेस्रो भएको एपीएफले ६० हजार प्राप्त गर्यो । तेस्रो भएको पुलिसले नगद ६० हजार प्राप्त गर्यो ।

महिलातर्फ शिवम् न्यु डायमन्डकी प्रतिभा माली उत्कृष्ट खेलाडी बनिन् । पुरुषमा आर्मीका मानबहादुर श्रेष्ठ उत्कृष्ट चुनिए । उनीहरु दुवैले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । महिलातर्फ एपीएफकी सरस्वती चौधरी बेस्ट स्पाइकर, पुलिसकी मनिषा चौधरी बेस्ट ब्लकर, एपीएफकी हिरा केसी बेस्ट सर्भर, शिवम् न्यु डायमन्डका सलिना श्रेष्ठ बेस्ट लिब्रो र कृपा अधिकारी बेस्ट सेटर तथा एपीएफका ज्ञानेन्द्र विष्ट बेस्ट कोच चुनिए । यसैगरी पुरुषमा हेल्प नेपालका ललित कुमार बेस्ट स्पाइकर, आर्मीका दुर्गा महतो बेस्ट सेटर, धनबहादुर भट्ट बेस्ट सर्भर, ईश्वर थापा बेस्ट लिब्रो र कपिलकिशोर श्रेष्ठ बेस्ट कोच चुनिए । विधागत उत्कृष्ट सबैले जनही पाँचपाँच हजार प्राप्त गरे ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, मुख्य प्रायोेजक एनएसटीकी निदेशक अस्मिता सुमार्गी, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मालगायतले पुरस्कार प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्