नेपाल जिम्बावेसँग भिड्दै



नेपालले एकदिवसीय विश्वकप क्रिकेट छनोट यात्रा आइतबारदेखि जिम्बावेविरुद्धको खेलसँगै गर्दै छ । आइसिसी विश्व डिभिजन–२ को उपविजेताका रूपमा नेपालले समूह ‘बी’मा आयोजक राष्ट्र जिम्बावेविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । जिम्बावे एकदिवसीय र टेस्ट मान्यता राष्ट्र हो । नेपाल एसोसिएट राष्ट्र हो । सन् २०१७ को सेप्टेम्बरमा आइसिसी एकदिवसीय वरीयताको आठौँ स्थानमा समावेश नभएपछि जिम्बावेले विश्वकपमा स्थान बनाउन छनोट यात्रा गर्नुपरेको हो ।

पहिलो खेल नै चुनौती
जिम्बावे नेपालभन्दा बलियो टोली हो । नेपालले आधिकारिक रूपमा जिम्बावेविरुद्ध पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्दै छ । एकापसमा नेपाल र जिम्बावे नौला प्रतिद्वन्द्वी हुन् । निरन्तर विश्वकप खेलिरहेको जिम्बावेलाई नेपालविरुद्ध जित निकाल्नुपर्ने दबाव छ । समूह ‘बी’को पहिलो खेलमा नेपाललाई पनि सनसनी नतिजा निकाल्नुपर्ने चुनौती छ ।

अभ्यासको आस
आइसिसी छनोट खेलअघि सबै राष्ट्रलाई २ अभ्यास खेलको प्रबन्ध मिलाइएको थियो । नेपालले पहिलो खेलमा युएईलाई ५ विकेटले हराएको थियो । वर्षाका कारण नेपाल र हङकङबीचको अभ्यास खेल रद्द भएको थियो । एक महिनाभित्र दुईपटक युएईलाई हराएको नेपालको आत्मविश्वास बलियो नै छ । युएईलाई हराएको खेलमा ललित भण्डारी चम्किएका थिए । उनले ४ विकेट सरप्राइज प्याकेजका रूपमा लिँदै विपक्षीलाई टाउको दुखाइ बनाएका छन् । नेपाली स्पिनरहरूलाई पनि चुनौती छ । समानान्तर ब्याटिङ गर्न नसकेको नेपालको ब्याटिङ नै प्रमुख समस्या हो । ब्याटिङ नचल्दा बलिङमै नेपालको आशा छ ।

यस्तो छ जिम्बावे
आयोजक जिम्बावे प्रतियोगिताको मुख्य दाबेदार हो । १९९२ मा टेस्ट मान्यता प्राप्त गरेको जिम्बावेले गत डिसेम्बरमा दक्षिण अफ्रिकासँग टेस्ट खेलेको थियो । सन् १९८३ देखि विश्वकप यात्रा तय गरेको जिम्बावे योपटक क्रिकेटको महाकुम्भ मेलामा आफूलाई उभ्याउने क्षमता राख्छ । अभ्यासमा पनि जिम्बावेले दोस्रो अभ्यास खेलमा पपुवा न्युगिनीमाथि ५ विकेटको सहज जित निकाल्दै आफ्नो बलियो दाबेदारीको संकेत गरेको थियो । अफगानिस्तान र बंगलादेशसँग एकदिवसीय सिरिज गुमाएकोे जिम्बावेको स्तर खस्किएको आभाष हुन्छ । तर, जिम्बावेले नेपालविरुद्ध अन्तर्राष्ट्रिय एक्सपोजर प्रस्तुत गर्ने अनुमान लगाउन सकिन्छ । यता, जिम्बावेका लागि नेपाल ‘सरप्राइज’ टिम हो ।

सबै प्रतिद्वन्द्वी उस्तै
नेपालका कप्तान पारस खड्काले जिम्बावे प्रस्थान गर्नुअघि नै छनोट खेलमा सहभागी सबै राष्ट्र एकैस्तरका भएको बताएका थिए । विश्वकप छनोट हुनका लागि प्रतिस्पर्धा आएको उनले बताएका थिए । प्रशिक्षक जगत टमाटाले पनि खेलाडीहरूमा प्यासन रहेको र मिहिनेत गरेका कारण जिम्बावेविरुद्ध आत्मविश्वासी प्रदर्शन गर्ने बताए । खेलाडीहरू छनोट हुने लक्ष्यकासाथ मैदानमा उत्रने प्रशिक्षक टमाटाले बताए ।

प्रतिक्रिया दिनुहोस्