भूकम्पका वेला किर्ते हाजिरी गरेको सार्वजनिक भएपछि काभ्रेको दुर्गम डाँडापारि–६ कोलबोटस्थित जनकल्याण माविका शिक्षक अजयकुमार झाले शिक्षण पेसाबाट राजीनामा दिएका छन् । ०६३ सालदेखि जनकल्याण माविमा विज्ञान विषय पढाउँदै आएका झाले फागुन १३ गते राजीनामा दिएका प्रधानाध्यापक नरेश नेपालीले बताए ।
०७२ वैशाख १२ को भूकम्पका वेला झा विद्यालयमा प्रधानाध्यापक थिए । सोही समयमा उनले विद्यालयमा उपस्थित नभएका शिक्षक हरिप्रसाद यादवको किर्ते हाजिरी गरेको सार्वजनिक भएपछि स्थानीय बासिन्दाले झालाई कारबाहीको माग गरेका थिए । यादव विद्यालयमा एक दिन पनि उपस्थित नभएका स्थानीयको भनाइ छ । विद्यालयमा एक दिन पनि उपस्थित नभई यादव अन्यत्रै सरुवा भएका थिए । उक्त विषय सार्वजनिक भएपछि झाले राजीनामा दिएका प्रधानाध्यापक नेपालीले बताए । झाले ३० भदौ ०७१ मा जिल्ला शिक्षा कार्यालय काभ्रेबाट निमावि तह विज्ञान विषय तृतीय श्रेणीमा नियुक्त लिएका थिए ।
प्रअ भएका वेला शिक्षक झाले विद्यालयमा अनुपस्थित शिक्षक हरिप्रसाद यादवको किर्ते हाजिरी गरेको खुलेपछि स्थानीय सचेत युवा समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कारबाहीका लागि उजुरी दिएको थियो ।
किर्ते हाजिर गरी शिक्षक यादवलाई अन्यत्र सरुवाका लागि पहल गर्ने तत्कालीन प्रअ झालाई कारबाही नगर्न राजनीतिक दल, शिक्षक संघ संगठन र जिल्ला शिक्षा कार्यालयले विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिलाई दबाबसमेत दिएका थिए । तर, विद्यालय प्रशासनले नमानेपछि झाले शिक्षण पेसाबाटै राजीनामा दिएका विद्यालय व्यवस्थापन समितिका एक सदस्यले बताए ।