संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको सभामुख यही फागुन २६ गते र राष्ट्रियसभाको अध्यक्ष ३० गते चयन हुने भएको छ । संघीय संसदको सचिवालयले तयार पारेको कार्यतालिकालाई आइतबार बसेको सवंदलीय बैठकले अनुमोदन गरेको हो ।
नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा आज बसेको सर्वदलीय बैठकले सो कार्यतालिका अनुमोदन गरेको हो । संघीय सचिवालयले तयार पारेको कार्यसूची अनुसार फागुन २५ गते सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । सभामुख पदका लागि परेको उम्मेदवारीलाई सोही दिन अपराह्न सार्वजनिक गरिनेछ ।
२६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुखको निर्वाचन हुने भएको छ । कार्यतालिका अनुसार २७ गते प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वासको मत लिने कार्यक्रम रहेको छ । त्यस्तै २८ गते राष्ट्रियसभा अध्यक्षको लागि मनोनयन दर्ताको समय तोकिएको छ भने ३० गते राष्ट्रियसभा अध्यक्ष चयन हुनेछ ।
२९ गते निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेकोले संसदको कुनै पनि कार्यक्रम नराखिएको हो ।
सोमबार संघीय संसदको पहिलो अधिवेशन आह्वान गरिएको छ। संवैधानिक व्यवस्था अनुसार संघीय संसदको पहिलो अधिवेशन सम्पन्न भएको मितिले १५ दिन भित्र प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने हुन्छ।