पहिचान र अस्तित्वसहितको समावेशीता हुनुपर्नेमा जोड



नगरकोट, २१ फागुन

वरिष्ठ पत्रकारहरुले पहिचान र अस्तित्वसहितको समावेशीता हुनुपर्नेमा जोड दिएका छन् । पत्रकारिता क्षेत्रले पनि यसैलाई आत्मसात् गरेर समाचार उत्पादन, प्रशोधन तथा प्रसारण र प्रकाशनमा  ल्याउनुपर्ने उनीहरुको सुझाव छ ।

नेवाः पत्रकार राष्ट्रिय दबू र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ भक्तपुरको संयुक्त संयोजनमा भएको तीनदिने तालीमका सहभागीले नेपाली पत्रकारितामा समावेशी विषयको एक अन्तक्र्रियामा समाचार उत्पादनमा समावेशी भए पनि प्रशोधन गर्ने डेस्कमा समावेशी नहुँदा प्रसारण तथा प्रकाशनमा समावेशीताले ठाउँ नपाएको औँल्याए ।

कार्यक्रमका सहभागीलाई आइतबार प्रमाणपत्र वितरण गर्दै सूचना विभागका महानिर्देशक वीरबहादुर राईले नेपाली सञ्चार क्षेत्रलाई समावेशी बनाउन विभागले पहल गर्ने बताउनुभयो ।

तालीमका प्रमुख सहजकर्ता डा सुरेश आचार्यले समावेशीता एउटा आन्दोलन भएर आएकाले त्यसलाई सम्बोधन गर्न सबै पक्ष तयार हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सञ्चार विज्ञहरु डा विजय मिश्र, डा राजेश अहिराज, खिम घले र मीरा राजभण्डारीले नेपाली पत्रकारितालाई समावेशी बनाउन देखिएका समस्या र त्यसको निराकरणका उपायसँगै समावेशी पत्रकारिता के र कसरी गर्ने भन्नेबारे सहजीकरण गर्नुभएको थियो ।

स्थानीय संयोजनकर्ता नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुरका अध्यक्ष ईश्वरकाजी खाइजूले समावेशीताका विषयमा धेरै चर्चा भए पनि सञ्चार क्षेत्रमा यसले प्रवेश नपाएको सन्दर्भमा भक्तपुरमा उक्त कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

तीन दिनसम्म चलेको तालीममा भक्तपुरका ४० जना क्रियाशील पत्रकारको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्