काठमाडौं – भुवन केसीकी पूर्व पत्नी सुष्मिता केसीले होलीको दिन फेसबुकमा एउटा स्टाटस लेखिन् र केहीबेरमै मेटाइन् । तर, उक्त स्टाटसको तरंग भने मेटिएको छैन ।
सुष्मिताले उक्त स्टाटसमा आफ्ना सुपरस्टार छोरा अनमोल केसीविरुद्ध तितो ओकलेकी थिइन् । आवेशमा आउँदै उनले छोरालाई ‘सत्यानाश’ सम्म लेख्न पुगिन् ।
उनको स्टाटस यस्तो थियो, ‘आमाको मन दुखाएर कसैको प्रगति भएको छ र ? डिंगोपुत्रको सत्यानाश । यही हो मेरो डिंगो डिप्लोम्याटिक पुत्रलाई होलीको आशिर्वाद ।’
यो स्टाटससँग सुष्मिताले आफ्नो छोरो अनमोलले बाबु भुवन केसी र उनकी गर्लफ्रेन्ड जिया केसीसँग होली खेलेको फोटो पोष्ट गरेकी थिइन् ।
तर, छोराप्रति उनका कठोर शब्दहरुको तत्कालै आलोचना सुरु भयो र उनले त्यो स्टाटस हटाइन् ।
त्यसको भोलिपल्ट नायिका करिश्मा मानन्धरले उक्त स्टाटससँग सम्वन्धित एउटा समाचार सेयर गर्दै सुष्मिताको पक्ष लिएकी हुन् । यसबारे करिष्माले दुईवटा स्टाटस ठोकेकी छिन् ।
पहिलो स्टाटसमा उनी लेख्छिन्, ‘त्यस्तालाई पनि आमाले कहिलेकाहीँ जन्माउँदा रहेछन्, जसलाई आमाको भावना मात्र होइन इज्जतको पनि ख्याल नहुँदो रहेछ । (बिइङ उमन आइ एम युथ यू सुस)
त्यसको केही घन्टापछि करिश्माले आफ्नी छोरी कवितासँगको फोटो पोष्ट गर्दै लेखेकी छिन्, ‘के हामीलाई पब्लिसिटीको लागि सन्तान चाहिन्छ ? हो, सन्तालाई कहिले आमाले त्यस्तो शब्द प्रयोग गर्नुहुँदैन तर आफूलाई जन्माउने आमासँग फोटो खिच्न पनि गाह्रो हुने के सन्तान ? म त मेरो कबुले त्यस्तो गर्यो भने घरबाटै बाहिर (निकाल्छु) ।’