काठमाडौँ । अभिनेत्री शिल्पा पोखरेल अहिले चर्चाको केन्द्रविन्दुमा छिन् । छविराज ओझाको लगानीमा बनेको ‘लज्जा’बाट चलचित्र अभिनयमा डेव्यु गरेकी शिल्पाको चर्चाका दुई कारण छन् । उनी चलचित्र निर्माता बनेको कारण एक हो भने अर्काे कारण निर्माता छविराज ओझासँगको सम्बन्ध पनि हो ।
निर्माताको रुपमा उनले आफूले व्यवसायिक र राम्रो चलचित्र ‘मंगलम्’ बनाएको दाबी गरिरहेकी छिन् । मुख्य अभिनेत्रीको रुपमा समेत आफैले अभिनय गरेकी शिल्पाको ‘मंगलम्’का निर्देशक नवल नेपाल हुन् । निर्माता छविसँगको सम्बन्धको विषयमा भने उनले खुलेर मुख खोलेकी छैन । अभिनेत्री रेखा बाहिरिने बितिक्कै छवि क्याम्पमा भित्रिएकी शिल्पा र छविबीचको सम्बन्धको चर्चा बेला बेलामा गसिपको बिषय बन्दै आएको छ । केही पहिले छविले नै निर्माण गरेको एक चलचित्र प्रचारका क्रममा एक वर्ष भित्र छविसँग लगनगाँठो कस्ने बताएकी उनले अहिलेसम्म त्यो वाचा गरेकी छैन् ।
आगामी शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘मंगलम्’को प्रचार प्रसारको दौडधुपमा रहेकी शिल्पाले भिडियो कुराकानी गर्दै पतिको रुपमा छविलाई आफुले अहिलेसम्म रोजी नसकेको बताउदै आफ्ना लागि उनी उपयुक्त छन् वा छैनन् भन्ने जाँचिरहेको बताइन् ।