मानव तस्करीका अभियुक्त जोगाउन माओवादी नेताको दौड



काठमाडौं । २०५२ सालमा जनयुद्ध सुरु गरेका माओवादीहरुले यसको दौरानमा युद्ध सुरु गर्नाको मूलभूत उद्देश्य सामन्ती राज्य व्यवस्था र यसका अवशेषहरु अन्त्य गर्नु रहेको बताउने गरेका थिए । यही लक्ष्य भेट्ने नाममा माओवादीहरुले जाली, फटाहा, भ्रष्टाचारीको सफायादेखि अनेक हिंसात्मक गतिविधि १० वर्षको अवधिमा गरे, जसको अवशेष अझै पनि बाँकी नै छ ।

जनताको लाड र प्यार पाएर सिंहदरबार छिरेका तिनै माओवादी पछिल्लो समय हिजो सफायामा परेका जाली, फटाहा, भ्रष्टाचारी र मानव तस्कर प्रवृत्ति बोकेकाहरुकै प्यारा भएका छन् । त्यसकै पछिल्लो कडी हो–राजेन्द्र खड्गी प्रकरणमा माओवादी केन्द्रका नेताले खेलेको भूमिका ।

दर्जनौं फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका खड्गी यतिबेला मानव तस्करीको अभियोगमा प्रहरी हिरासतको पाहुना बनेका छन् । कलाकारको आवरणमा मानव तस्करी गरेको अभियोग उनी स्वयंले स्वीकारी सकेको अवस्था छ ।

‘कलाकारको आवरणमा कोरिया र जापानमा मानिस लगेर छाडेको हुँ, तर यसो गर्नु मानव तस्करी हो भन्ने मलाई थाहा भएन’, खड्गीले गल्ती स्वीकार्दै प्रहरीसँगको वयानमा भनेको प्रहरी स्रोत बताउछ । तर हिजो गणतन्त्र र असल शासनको वकालत गर्दै हजारौंको वलिदानबाट स्थापित माओवादी केन्द्रका नेताहरु ‘रिल’ जस्तै ‘रियल’ लाइफमा समेत खलनायकको भूमिका खेलेका उनै खड्गीको बचाउमा छाँद हालेर लागेका छन् ।

स्रोतका अनुसार, रेखा थापासँगै प्रचण्डको हातबाट टीका लगाएर माओवादी बनेका खड्गी जोगाउन माओवादीका शीर्षदेखि तल्लो तहसम्मका नेता गुप्त तर सक्रियतापूर्वक लागेका छन् । कतिसम्म भने केही नेता त मानव तस्करीको आरोप स्वीकारेका खड्गीलाई जोगाउन नांगो रुपमै लागेका छन् । यसरी लाग्नेमा खड्गीकै गृह जिल्ला मकवानपुरका रामनारायण बिडारी अग्र पंक्तिमा रहेको बताइन्छ ।

राष्ट्रियसभा सदस्यमा मनोनित बिडारी लोकजाल र पदीय मर्यादा दुवैको ख्याल नगरी खड्गीको पक्षमा पैरवी गर्न कस्सिएको स्रोतको दावी छ । खड्गीप्रतिको बिडारीको आसक्तिलाई माओवादीभित्रैबाट आलोचना भइरहेको बताइन्छ । राष्ट्रियसभा जस्तो सम्मानित सदनको सांसद्मा मनोनित भएका बिडारीले आलोचनापछि गल्ती सुधार गर्नुपर्ने भएपनि उनले उल्टै आफ्नो बचाउ गरिरहेका छन् । खड्गीको मुद्दा हेरेको विषयमा एक अनलाइनले प्रश्न उठाएपछि उनले त्यसमाथि प्रतिक्रिया दिँदै ‘के म बहस नगरेर चोर्न जाऊँ’ त भन्ने हदैसम्मको गैरजिम्मेवार जवाफ फर्काएका थिए । जसको सार्वजनिक रुपमा आलोचना भइरहेको छ । (साँघुबाट)

प्रतिक्रिया दिनुहोस्