डाक्टर हरिदेवप्रसाद यादव
उत्पादन अधिकृत
सिंहदरबार वैद्यखाना विकास समिति
अश्वगन्धा :
यो यौन शक्ति बढाउने लाभदायक आयुर्वेदिक औषधि हो । वैद्यखानाबाट उत्पादित अश्वगन्धाले यौन शक्ति बढाउनुका साथै शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ । शरीरको स्फूर्ति बढाउँछ । सुस्त यौन ईच्छालाई बढाउँछ । अश्वगन्धा बिरामी भएको वा नभएको दुवैले खान सकिन्छ ।
ब्लड प्रेसर भएका व्यक्तिले अश्वगन्धा धेरै समय खाएमा प्रेसर बढ्न सक्छ तर सामान्यतः असर गर्दैन । अश्वगन्धा दिनमा दुई पटक खान सकिन्छ । यो धुलो हुन्छ ।
बाजिकर :
यौनशक्ति बढाउने अत्यन्तै प्रभावकारी आर्युवेदिक औषधि हो यो । यसको सेवनले यौन दुर्बलता हटाउँछ । शरीरमा स्फूर्ति ल्याउँछ । बाजिकरमा अश्वगन्धा, मुस्ली, सतवारी तथा कपीकच्छुलगायतका जडिबुटी मिसिएको हुन्छ । यो दिनमा दुई पटकसम्म खान सकिन्छ । एक पटकमा एक चम्चा खान सकिन्छ । यो महिला पुरुष दुनै जनाले खान सकिन्छ । यौन क्षमतामा कमी आयो वा शारीरिक अशक्तता भयो भने बाजिकरको सेवनले फाइदा गर्छ ।
यसले नसा तथा हड्डीलाई बलियोसमेत बनाउँछ । यसमा भिटामिन, खनिज तथा मिनरल्स पनि पाइन्छ । वर्षमा दुई महिनासम्म यसको सेवन गर्दा शरीर मजबुत बनाई यौन क्षमता बढाउँछ । दुई महिनाभन्दा धेरै नखाएकै राम्रो । यसले शरीरलाई न्यानोसमेत गराउँछ । बालाबालिकाको हकमा भने चिकित्सकको सल्लाहविना प्रयोग गर्नुहुँदैन । बच्चा भएको छैन भने यसको सेवनले यौन शक्ति बढाएर बच्चा बस्न सक्छ । वैद्यखानाबाट उत्पादित बाजिकर शक्ति शास्त्रअनुसार नै बनेकाले गुणस्तर राम्रो छ । बाजिकर १० देखि १५ ग्रामसम्म दैनिक दुईपटक दूधमा खान सकिन्छ ।
च्यवनप्राश :
च्यवनप्राश आर्युवेदशास्त्रअनुसार नै बनाइन्छ । यसमा ५२ वटा जडिबुटी मिसाइन्छ । तर मुख्यरूपमा रहेका ४२ वटा जडिबुटी भने परिवर्तन गरिँदैन । च्यवनप्राशमा मुख्य अमला मिसाइन्छ । यार्शागुम्बा, पाँचऔँले, कपीकच्छु लगायतका जडिबुटीसमेत मिसाइन्छ । यसले यौन शक्ति बढाउँछन् । अमला काँचो मिसाइन्छ । ओइलाएको अमला राम्रो हुँदैन ।
च्यवनप्राश पनि स्पेशल, सुगर फ्री र जनरल गरी तीन प्रकारका छन् । च्यवनप्राश बिहानबेलुका दैनिक एक—एक चम्चा खान सकिन्छ । स्पेसल च्यवनप्राश १८ वर्षभन्दा कम उमेरकोले नखाएकै राम्रो हुन्छ । १८ भन्दा कमकोले जेनेरल (नर्मल) च्यवनप्राश खानुपर्छ । यौन दुर्बलतासम्बन्धी समस्या आए स्पेसल च्यवनप्राश खान सकिन्छ । स्पेशल च्यवनप्राश धेरै समय ब्लड प्रेसर भएका व्यक्तिले खाएमा प्रेसर बढ्न सक्छ । यसले ठूलो असर भने हुँदैन ।
शिलाजित :
यो एक प्रकारको खनिज पदार्थ हो । शिलाजितमा शिलाजित मात्रै हुँदैन । यसमा अन्य विभिन्न किसिमका जडिबुटी पनि मिसाइन्छ । शिलाजितले ब्लडसुगर, ब्लडप्रेसर तथा रगत सफा गर्ने काम गर्छ । शिलाजितको द्रव्य तितो हुने भएकाले यसले ब्लड प्युरीफाई गर्छ । रगतलाई सफा र कन्चन बनाउँछ । ब्लड सफा हुनेबित्तिकै शारीरिक स्फूर्ति बढाउँछ । कोलस्टोर हटाउँछ । ब्लड सर्कुलेसन राम्रो हुनेबित्तिकै शरीर पनि तेज हुन्छ र यौन उत्तेजना बढाउनुका साथै यौन क्षमता पनि बढाउँछ । शिलाजित ५ सय एमजीदेखि एक ग्रामसम्म बिहान बेलुका खान सकिन्छ । गुणस्तरीय शिलाजित पानीमा डुबाउँदा पानीलाई फोहोरा जस्तै माथि फाल्छ । (शुक्रबार)