काठमाडौँ । नायक भुवन केसी चोरीको आरोपमा फसेका छन् । उनलाई आफ्नो छोरा अनमोल केसी अभिनित फिल्म ‘कृ’ को ‘उकालीमा पछि–पछि, ओरालीमा अघि–अघि’ बोलको गीतमा चोरीको आरोप लागेर मुद्धा चलिरहेको बताइएको छ । ३३ वर्षअगाडि सयपत्री मुभिज्ले शम्भु प्रधानको निर्देशनमा निर्माण गरेको फिल्म सम्झनाको यो गीतमा उतिबेला भुवन केसी र तृप्ती नाडकर देखिएका थिए । त्यही गीत अहिले नयाँ फिल्म ‘कृ’ मा हालिएको छ ।
प्रतिलिपी अधिकार सम्बन्धी ऐन, २०५९ को दफा २५ (१) (क) र (ख) बमोजिमको कसुर गरेका छन् भुवन केसी र सुवाष गिरीले। मुद्धाको फाइल टेकुस्थित प्रहरी परिसरका डिएसपी मोहन थापाको टेबुलमा छ । उजुरकर्ता उनै चलचित्र निर्देशक शम्भु प्रधान हुन् ।
फिल्मका निर्मातामध्ये भुवन पनि एक हुन् भन्ने दावी छ, शम्भुको । तर, भुवन आफू नभएर सुवाष निर्माता भएको बताउँछन् । ‘कृ’ ले आफ्नो स्वामीत्वमा रहेको उक्त गीत प्रयोग गरेबापत शम्भु प्रधानले कूल आम्दानीको ५० प्रतिशत रकम क्षतिपूर्तिस्वरुप दावी गरेका छन् ।
दावीबमोजिम क्षतिपूर्ति दिँदा पनि एक करोडभन्दा बढी तिर्नुपर्छ । तर, केही दिनअघि ‘कृ’ पक्षका कानुन व्यवसायी र प्रहरीले शम्भुलाई आफु ‘दुई–तीन लाख रुपैयाँ लिनुस्, चूप लागेर बस्नुस्’ भनेका छन् । शम्भसुले भने आफु न्याय माग्न गएको र भिख मागेजस्तो व्यवहार गरेको बताएका छन् ।मेरो सम्पत्ति जथाभावी प्रयोग भुवनले पैसा कमाए भन्दै शम्भुले आरोप लगाएका छन् ।