राष्ट्रपतिका लागि दुवै भोजपुरवासी एउटै विद्यालयमा पढेका उम्मेदवार



काठमाडौँ, २३ फागुन

राष्ट्रपतिका दुवै उम्मेदवारको गृह जिल्ला भोजपुर हो । उहाँहरु दुवै जना कुनैबेला भोजपुरको विद्योदय माध्यमिक विद्यालयका विद्यार्थी हुनुहुन्थ्यो । राष्ट्रपति भण्डारी विसं २०१८ असार ५ गते भोजपुरको मानेभन्ज्याङ गाउँमा जन्मनुभएको हो ।  नेत्री राईको जन्म २००६ साल असार १८ गते भोजपुरको सिनामकमा भएको हो ।

राष्ट्रपति भण्डारी एमालेका पूर्व केन्द्रीय उपाध्यक्ष हुनाका साथै एमालेका तत्कालीन महासचिव स्व मदन भण्डारीकी धर्मपत्नी हुनुहुन्छ । काँग्रेस पूर्व केन्द्रीय सदस्य र पूर्व सभासद् नेत्री राई शहीद दिवानसिंह राईकी सुपुत्री हुनुहुन्छ ।

आयोगका अनुसार निर्वाचनका लागि फागुन २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र फागुन २९ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान गर्ने निर्वाचन तालिका छ ।

नेपालको संविधानअनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन गइरहेको छ ।

संविधानको धारा ७० अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरकफरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्