मेलबर्न । अस्ट्रेलियाको लिबरल नेसनल पार्टीले जुलिया गिलार्ड केन्टुकी फ्राइड क्वेल नाम दिएको कार्यक्रम अस्ट्रेलियाकी पूर्वप्रधानमन्त्री जुलिया गिलार्डलाई लज्जास्पद बनाउने खालको थियो ।
लिबरल पार्टीको डिनरमा राखिएको मेनुमा ‘स्मल ब्रेस्ट, ह्युज थाई एन्ड ए विग रेड बक्स’ लेखिएको थियो । सो मेनुले प्रधानमन्त्रीका साना स्तन, ठूला तिघ्रा भनी सरकारप्रमुखलाई अश्लील रूपमा व्यंग्य गरिएको थियो ।
तीन वर्षअघि आयोजित सो डिनरकोे भाषाको सर्वत्र आलोचना भएको थियो । डिनरको मेनुको विपक्षी नेता टोनी अबोटले समेत निन्दा गरेका थिए । सर्वत्र विरोध भएपछि तल्लो सदनको सदस्यसमेत रहेका बोरगले सो मेनु एक गैरपार्टीका व्यक्तिले तयार गरेको र मजाकका लागि मात्र बनाएको भन्दै गिलार्डसमक्ष माफी मागेका थिए ।
निर्वतमान प्रधानमन्त्रीलाई अपहेलना गरिएको त्यो नै पहिलो र अन्तिम घटना थिएन । त्यसअघि एक रेडियो प्रस्तोताले गिलार्डको पार्टनरको यौन क्षमताबारे प्रश्न गरेका थिए ।
ती प्रस्तोताले गिलार्डका श्रीमान् गे हुन् भनी प्रश्नसमेत गरेका थिए । जसका कारण उनले जागिरबाट मात्र हात धुनुपरेन, उनले काम गरेको संस्थाले समेत क्षमा माग गरेको थियो ।
गिलार्डलाई पूर्वसिनेटर हेफरम्यानले पनि व्यंग्य गरेका थिए । ‘जसले योजनाबद्ध ढंगले आफू बाँझो हुने चाहना गर्छ, उनीहरूलाई जीवन के हो भन्ने नै थाहा हुँदैन,’ सिनेटर विल हेफरम्यानले सन् २००७ मा भनेका थिए ।
उनले अप्रत्यक्ष रूपमा गिलार्डलाई व्यंग्य गरेका थिए । त्यसको एक वर्षअघि लेवर पार्टीका एक पूर्वनेता मार्क लथामले भनेका थिए, ‘बालबच्चा हुनु भनेको जीवनको जुनसुकै क्षणमा रमाइलो महसुस हुनु हो । यदि बच्चा नजन्माउने छनोट कसैले गरेको छ भने तपाईंको जीवनमा खासै माया हुँदैन ।’ उनले गिलार्डमा सहानुभूतिको भावना नभएकोसमेत बताएका थिए । – एजेन्सी