काभ्रे महोत्सव शुरु



धुलिखेल, २३ फागुन

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल उद्योग वाणिज्य संघले आयोजना गरेको  ‘काभ्रे महोत्सव–२०७४’ को उद्घाटन गर्नुभयो ।

‘विकास, सुशासन र अग्रगमनको आधार, नेपालको आर्थिक समृद्धिको बहार’ भन्ने नाराका साथ धुलिखेल रंगशालामा आजबाट शुरु भएको महोत्सव उद्घाटन गर्दै मन्त्री यादवले अबको सरकार उद्योगधन्दाको विकासका लागि कटिबद्ध रहेको बताउनुभयो ।

उहाँले सरकार आर्थिक समृद्धिको बाटोमा जाने र देशलाई एकताबद्ध गर्ने सुशासन दिने नारासहित अघि बढेको ठोकुवा गर्दै देशको समृद्धि र विकासका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

कृषि, पर्यटन, हस्तकला, औद्योगिक उत्पादन, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य, निर्माण सामग्री, भवन निर्माण प्रविधिलगायत सेवा र वस्तुको प्रदर्शनी गरिएको महोत्सवमा कुल १५० वटा स्टलहरू छन् ।

रु पाँच करोडको कारोबार गर्ने अपेक्षा गरिएको उक्त महोत्सव काभ्रेपलाञ्चोक लगायत काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाका गरी एक लाख ५० हजारले अवलोकन गर्ने अनुमान आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस्