काठमाडौँ, २३ फागुन
तपाईंलाई बगैंचामा कसरी तरकारी खेती गर्न सकिन्छ थाहै होला । तर, खेती पनि गर्नुभएको छ त ? र अन्य तरकारी खेती गर्ने विधिभन्दा थोरै फरक भए पनि यो खासै गाह्रो काम भने होइन ।
तपाईंमा इच्छा शक्ति र केही समय भने हुनुपर्छ । शुरूमा तपाईंले आफ्नो बगैंचाको माटो कत्तिको उर्वर छ भन्ने थाहा पाउनुपर्छ । माटोको उर्वराशक्ति, अम्लीयपन आदिको मात्रा परीक्षणबाट जान्न सकिन्छ । साथै, सिजन र अफसिजनमा हुने तरकारी बालीको बारेमा पनि तपाईंलाई जानकारी हुनु आवश्यक छ । खेती गर्न मन लागेको तरकारीका लागि आफ्नो बगैंचा उपयुक्त छरछैन भन्ने बुझेर मात्र काम थाल्नुपर्छ । साधारणतया बगैंचामा आलु, मुला, पुदिना, धनियाँ, खुर्सानी आदि लगाउन सकिन्छ । बगैंचामा तरकारी खेती गर्ने केही तरीका यहाँ दिइएको छ स्
ठाउँ छनोट गर्नुहोस्
बगैंचामा तरकारी खेतीका लागि सकभर राम्रोसँग घाम लाग्ने ठाउँको छनोट गर्नुहोस् । यदि तपाईं धनिया, पुदिनालगायत पात प्रयोग गरिने बिरुवा लगाउँदै हुनुहुन्छ भने केही छाँया परेको तथा ओसिलो ठाउँ छनोट गर्नुपर्छ ।
तरकारी बालीको छनोट
ठाउँको छनोट गरिसकेपछि तपाईंलाई कति जग्गा आवश्यक पर्छ तथा के–के तरकारी लगाउने हो, निक्र्योल गर्नुपर्छ । पहिलोपटक बगैंचामा तरकारी लगाउँदै हुनुहुन्छ भने थोरै जग्गाको मात्र प्रयोग गर्नुहोस् । साथै, तपाईंसँग कुनै खुला जग्गा छैन भने गमलामै पनि तरकारी लगाउन सकिन्छ ।
गमलाको तयारी
गमलामा तरकारी बाली लगाउन सबैभन्दा पहिले त्यसको सफाइ गर्नुहोस् । त्यसपछि आवश्यकताअनुसारको माटो, मल तथा पानीको मात्रा मिलाएर तरकारीको बीउ रोप्न वा बेर्ना लगाउन सकिन्छ । साना गमलामा धेरै ठूलो बोट हुने वा धेरै जरा फैलने तरकारीबाट भने राम्रो उत्पादन लिन सकिन्न । त्यसैले, सोहीअनुसारको गमला तथा तरकारी बाली छनोट गरी खेती गर्नुहोस् । केही गमलामा सुगन्धित फूल पनि रोप्नुहोस् । यसो गर्दा बगैंचामा लगाइएका अन्य तरकारी बालीमा रोग/कीरा लाग्ने सम्भावना कम हुन्छ ।