भूमि व्यवस्थापन र आधुनिक कृषि विधेयक अन्तिम चरणमा



रुकुम, २३ फागुन

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले भूमि व्यवस्थापन र आधुनिक कृषि विधेयक अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले आज खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले उक्त विधेयक प्रदेशसभा बैठकमा पेश गरेर पारित गरिने बताउनुभयो । विधेयक पारित भएपछि आवश्यक कार्ययोजना निर्माण गर्न सहज हुने उहाँको भनाइ थियो ।

उहाँले पहुँचका आधारमा नभई योग्यता, क्षमता र कामको मूल्याँकनका आधारमा योजना तथा कार्यक्रम बनाइने बताउनुभयो ।

मन्त्री केसीले देशकै नमूना प्रदेश बनाउन कर्णाली प्रदेशमा नयाँ सहकारी नीति पनि आवश्यक रहेकाले प्रदेश सरकार सहकारी नीतिको तयारीमा लागेको जानकारी दिनुभयो ।

एक फरक प्रसंगमा मन्त्री केसीले अहिलेसम्म पनि मन्त्रालयमा पर्याप्त कर्मचारी नआउँदा दैनिक कार्यसञ्चालनमा समस्या उत्पन्न भएको गुनासो गर्नुभयो । कर्मचारीलाई छिटो आउन ताकेता गरिरहेको भए पनि अहिलेसम्म सबै कर्मचारी कार्यस्थलमा नपुगेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्