२४ फागुन २०७४ काठमाडौँ ।
नेविसंघका पूर्वअध्यक्ष महेन्द्र शर्मा विवाह बन्धनमा बाँधिने भएका छन् । नेपाली कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका शर्मा र नेविसंघकी सहमहमन्त्री साधना घिमिरेबीच विवाह हुने भएको हो ।
फागुन २८ गते साँझ ६ बजे आर्मी अफिसर्स क्लबमा शर्मा र घिमिरेबीच विवाह हुने नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिएका छन् । शर्मा बर्दियाका हुन् । उनी नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाका आफन्त हुन् । शर्मा र घिमिरेबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको बताइन्छ ।
यसअघि नेविसंघका पूर्वअध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि नेविसंघकै केन्द्रीय सदस्य एन्जिला न्यौपानेबीच विवाह भएको थियो । पौडेल र न्यौपानेबीच झन्डै पाँच वर्षअघिदेखि प्रेम सम्बन्ध थियो ।
यस्तै, नेविसंघका पूर्वअध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले पनि नेविसंघकै नेतृ टीका चौधरीसँग विवाह गरेका छन् ।