बुटवल, २४ फागुन
रुपन्देहीमा आजदेखि शुरु भएको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप बुटवलको २० औँ संस्करणअन्तर्गत आज भएको उद्घाटन खेलमा आयोजक रुपन्देही ११ ले विजयी शुरुआत गरेको छ ।
देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको खेलमा आयोजक रुपन्देही ११ ले सुदूरपश्चिम ११ लाई २–० गोल अन्तरले हराएको हो । रुपन्देहीले सातौं मिनेटमा नै निशान लिम्बूको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफमा पनि उनले गोल गर्दै घरेलु टोलीको जीत सुनिश्चित गरे । शुक्रबार कास्की ११ र फ्रेन्डस् क्लब काठमाडौंबीच खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा तीन विभागीय टोली पुलिस, एपिएफ क्लब र त्रिभुवन आर्मीसहित १० टोलीले प्रतिष्पर्धा गर्ने संघका अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिनुभयो । विजेता टोलीले रु सात लाख ७७ हजार ७७७ सहित स्वर्ण पदक तथा उपविजेताले रु चार लाख ४४ हजार ४४४ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता आगामी चैत ३ गतेसम्म चल्नेछ ।
प्रतियोगिताको आज सांसदन छविलाल विकले उद्घाटन गर्दै लुम्बिनी क्षेत्रलाई खेलकुदको आकर्षणका रुपमा विकास गरिने बताउनुभयो । गोल्डकपका प्रमुख संरक्षक संस्था बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले खेलकुदको विकाससँगै खेलाडीको व्यावसायिक विकासमा सबैको ध्यान पुर्याउनुपर्ने बताउनुभयो ।