उत्तर कोरिया र अमेरिका बीच वार्तागर्न चीनको आग्रह



बेइजिङ, २४ फागुन

चिनियाँ विदेशमन्त्री वाङ यिले उत्तर कोरिया र अमेरिकालाई वार्तागर्न आग्रह गर्नुभएको छ ।

बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो आग्रह गर्नुभएको बताइएको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उहाँले भन्नुभयो– यी दुई देशले जतिसक्दो चाँडै शान्तिवार्ता गर्दा राम्रो हुनेछ ।

विदेशमन्त्री यिले यसअघि पनि यी दुई देशलाई जतिसक्दो चाँडै वार्तागर्न आग्रह गर्दै आउनुभएको थियो । उहाँले उत्तर कोरियाको परमाणुअस्त्र कार्यक्रमका बारेमा पनि दुई देशले वार्तागरी आफ्ना कुरा राख्नुपर्नेमा जोड दिँदै आउनुभएको थियो ।

दक्षिण कोरियाका दुई जना विशेषदूत बिहीबारै संयुक्त राज्य अमेरिका प्रस्थान गरेलगत्तै यता चिनियाँ विदेशमन्त्रीको यो प्रतिक्रिया आएको छ । त्यसैले उहाँको यो आग्रहलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

हालैमात्र उत्तर कोरियाको भ्रमणबाट फर्र्किएका दुईजना दक्षिण कोरियाली विशेषदूत बिहीबार अमेरिका प्रस्थान गर्नुभएको प्राप्त अर्काे एक समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा राष्ट्रिय सुरक्षा सल्लाहकार तथा राष्ट्रपतिको कार्यालयका राष्ट्रिय सुरक्षा प्रमुख चुङ इयु–योङ र अर्का एकजना दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुख बिहीबार अमेरिकाका लागि प्रस्थान गर्नुभएको हो ।

उहाँहरुले संयुक्तराज्य अमेरिकाका सुरक्षा र गुप्तचरसम्बन्धी उच्च अधिकारीहरुका साथै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँग भेटवार्ता गरी हालैको प्योङयाङ भ्रमणका बारेमा जानकारी गराउनुहुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्