८ मार्चमा तपाईंले पनि अन्तर्राष्ट्रिय महिला दिवस मनाउनुभयो होला । यस दिवसबारे कैयौँलाई सन्देश पनि पठाउनुभयो होला । कतिपय विशेष मानिसलाई फोन गरेरै बधाई पनि दिनुभयो होला ।
तर, के तपार्इंलाई थाहा छ, अन्तर्राष्ट्रिय महिला दिवस किन मनाउने गरिन्छ ? र, यो दिवसको सुरुवात कहिले भयो ? साँच्चै यो कुनै समारोह हो या अरू नै केही हो ?
रुसी सम्राट् निकोलसलाई पद छाड्न बाध्य बनाउने रुसी महिलाको आन्दोलन ग्रेगोरियन क्यालेन्डरको ८ मार्चबाट सुरु भएकाले अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा मनाउन थालिएको हो ।
कहिले सुरु भयो महिला दिवस ?
यथार्थमा अन्तर्राष्ट्रिय महिला दिवस एक मजदुर आन्दोलनबाट जन्मेको हो । यसको बीजारोपण १९०८ मा १५ हजार महिलाले नोकरीमा कम घन्टाको माग गर्दै न्युयोर्क सहरमा जुलुस निकालेपछि भएको थियो ।
यसका अतिरिक्त उनीहरूका मागमा राम्रो तलब, सुविधा र मतदानको अधिकार पनि समाविष्ट थिए । एक वर्षपछि सोसलिस्ट पार्टी अफ अमेरिकाले यस दिनलाई राष्ट्रिय महिला दिवस घोषित गर्यो ।
अन्तर्राष्ट्रिय बनाउने विचार कहाँबाट आयो ?
वास्तवमा यो विचार एक महिलाको थियो । क्लारा जेटकिनले १९१० मा कोपेनहेगनमा कामकाजी महिलाको एक अन्तर्राष्ट्रिय सम्मेलनको क्रममा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने सुझाब दिएकी थिइन् ।
सो समयमा सम्मेलनमा १७ देशका सय महिला उपस्थित थिए । ती सबैले सो सुझाबको समर्थन गरे । त्यसपछि सबैभन्दा पहिले १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विट्जरल्यान्डमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको थियो । तर, प्रावधिक रूपमा यस वर्ष हामी एक सय सातौँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका छौँ ।
१९७५ मा महिला दिवसलाई आधिकारिक मान्यता त्यतिखेर दिइयो, जतिखेर संयुक्त राष्ट्रसंघले यसलाई वार्षिक रूपमा एक नाराका साथ मनाउन सुरु गर्यो । अन्तर्राष्ट्रिय महिला दिवसको पहिलो नारा थियो— विगतको उत्सव मनाऔँ, भविष्यको योजना बनाऔँ ।
८ मार्च नै किन ?
यो प्रश्न तपाईंको मनमा पनि उठ्छ होला कि आखिर ८ मार्चमै अन्तर्राष्ट्रिय महिला दिवस किन मनाइन्छ ? यथार्थमा क्लारा जेटकिनले महिला दिवस मनाउनका लागि कुनै दिन निश्चित गरेकी थिइनन् ।
१९१७ मा युद्धका क्रममा रुसका महिलाले ‘खाना र शान्ति’को माग गरे । माहिलाको हडतालले त्यहाँका सम्राट् निकोलसलाई पद छाड्न बाध्य बनायो र अन्तरिम सरकारले महिलालाई मतदानको अधिकार दियो ।
सो समय रुसमा जुलियन क्यालेन्डर प्रयोग हुन्थ्यो । जुन दिन महिलाले यो हडताल सुरु गरेका थिए, त्यो २३ फेब्रुअरीको दिन थियो । ग्रेगोरियन क्यालेन्डरमा यो दिन ८ मार्च थियो । र, त्यसपछि अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा मनाउन थालिएको हो ?
के कुनै अन्तर्राष्ट्रिय पुरुष दिवस पनि छ ?
बिल्कुलै छ । अन्तर्राष्ट्रिय पुरुष दिवस १९ नोभेम्बरमा पर्छ । १९९० देखि यसलाई मनाउँदै आइएको छ । तर, यसलाई संयुक्त राष्ट्रसंघका तर्फबाट मान्यता प्राप्त भएको छैन । ६० भन्दा बढी देशमा अन्तर्राष्ट्रिय पुरुष दिवस मनाउने गरिन्छ ।
यसको उद्देश्य पुरुषको स्वास्थ्य, लैंगिक सम्बन्ध तथा लैंगिक समानतालाई सकारात्मक रूपमा अघि बढाउनु हो । २०१७ मा यस दिवसको नारा थियो— पुरुष र केटाको उत्सव मनाऔँ ।
संसारमा कसरी मनाइन्छ महिला दिवस ?
कैयौँ देशमा यस दिन राष्ट्रिय छुट्टीको घोषणा गरिएको हुन्छ । रुस र अन्य कैयौँ देशमा यस दिन नजिकिँदै गर्दा फूलको मूल्य निकै बढ्ने गर्छ ।
यस क्रममा महिला र पुरुष एकअर्कालाई फूल दिने गर्छन् । चीनमा अधिकांश कार्यालयमा महिलालाई आधा दिनको छुट्टी दिने गरिन्छ । अमेरिकामा भने मार्च महिनालाई ‘वुमन्स हिस्ट्री मन्थ’ का रूपमा मनाउने गरिन्छ ।
(बिबिसी हिन्दीको समाचार टिप्पणी)
बिबिसी डट कम /हिन्दीबाट