कोलम्बो । श्रीलंकाकी प्रमुख विपक्षी युनाइटेड नेसनल पार्टीकी सदस्य रोजी सेनानायके दुई दशकदेखि राजनीतिमा आबद्ध छिन् ।
उनी राष्ट्रसंघको गुडविल एम्बास्डर र मलेसियामा श्रीलंकाको हाइकमिसनरको रूपमा काम गर्दै आएकी छिन् । राजनीतिमा उनको पृथक् पहिचान भए पनि श्रीलंकाको संसद्का पुरुष सांसदले उनलाई वेलावेलामा संसद्को सुन्दरीका रूपमा चित्रण गर्ने गरेका छन् ।
एकपटक रोजीले संसद्को नियमित गतिविधिबारे जवाफ दिने क्रममा यतायातमन्त्री कुमारा वेलगामाले आफू रोजीको सौन्दर्यबाट प्रभावित भएको भन्दै रोजीलाई संसद् भवनभित्रै लाजमर्दो बनाएका थिए ।
सुन्दर रानीले उठाएका प्रश्नको उत्तर दिन मलाई निकै खुसी लागेको छ’, यातायात मन्त्रीले भनेका थिए । रोजी पूर्वविश्वसुन्दरीभन्दा कम नभएको ती मन्त्रीले बताएका थिए ।
‘तिमी यति सुन्दर महिला छौ कि म संसदमा मेरो भावना अभिव्यक्त गर्न सक्दिनँ । तर, संसद्बाहिर मैले तिमीलाई भेटेँ भने म वर्णन गर्नेछु, मेरा चिन्तनहरू विनाशकारी बन्दै छन् तर, सार्वजनिक रूपमा मैले ती विचारलाई व्यक्त गर्नेछैन’, यातायात मन्त्रीले भनेका थिए ।
तर, मन्त्रीको व्यक्तिगत भावनामा आफू नबग्ने रोजीले बताएकी थिइन् । ‘म अझै पनि व्युटी क्विनको रूपमा परिचित हुँला, तर म लामो समयदेखि राजनीति र महिलाअधिकारका क्षेत्रमा कार्यरत छु’, महिलाअधिकारवादीसमेत रहेकी रोजीले मन्त्रीलाई जवाफ दिएकी थिइन् । एजेन्सी