केन्द्रीय कारागारको निर्माण कार्य तीब्र



नुवाकोट, २५ फागुन

नुवाकोट विदुर नगरपालिका- ६ खम्बाक्याम्पस्थित केन्द्रीय कारागारको भवन निर्माण कार्य तीव्र रुपमा भइरहेको छ ।

केन्द्रीय कारागार निर्माणका लागि दोस्रोचरणमा एक हजार ५०० बन्दी क्षमताको बन्दीगृह र आवश्यक भौतिक पूर्वाधार निर्माण भइरहेको कारागार व्यवस्थापन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

“काठमाडौँ उपत्यकालाई कैदीमुक्त बनाउन निर्माणाधीन भवनलाई तीव्र बनाउन निर्देशन दिएका छौ,” महानिर्देशक आचार्यले भन्नुभयो, “विसं २०७६ कात्तिकदेखि केन्द्रीय कारागारका कैदीलाई यहाँ ल्याउने योजना छ ।”

हाल एक हजार ५०० कैदी राख्नका लागि पाँचवटा भवन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक/एक वटा आवसीय भवन तथा प्रशासनिक भवन निर्माण कार्य भइरहेको छ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय नुवाकोटमार्फत रु ४२ करोडको लागतमा उक्त भवनको निर्माण भइरहेको छ । उक्त भवनको निर्माण कार्य लामा–‘रमण जेबी कन्ट्रक्सन’ मार्फत भइरहेको जनाएको छ ।

विसं २०७० चैत २० को मन्त्रिपरिषद्को बैठकले काठमाडौँस्थित केन्द्रीय कारागारलाई नुवाकोटमा स्थानन्तरण गर्ने निर्णय गरेको थियो । चरणवद्ध रुपमा यसको निर्माण कार्य भइरहेको छ, यसका लागि बजेटको कुनै खास समस्या नरहेको विभागका उपसचिव विष्णुप्रसाद निरौलाले बताउनुभयो ।

“पहिलो चरणमा कारागारको जग्गा तारबार गरी एकीकृत गर्ने काम भयो, दोस्रोचरणमा भवन निर्माण कार्यलाई तीव्र बनाएको छ”, उहाँले भन्नुभयो, “अर्को सातादेखि बाँकी भौतिक संरचनाको निर्माण र बजेट तर्जुमा गर्न लागिरहेका छ ।”

कारागार निर्माणका लागि यहाँको ५३४ रोपनी सरकारी जग्गा विभागको नाममा स्वामित्व हस्तान्तरण भइसकेको छ । यौनिक तथा लैङ्कि अल्पसंख्यकको मानवअधिकारको सम्मान गर्दै निर्माणाधीन कारागारमा समलिङ्गी, तेस्रोलिङ्गी, पुरुष र महिलाको भिन्दा/भिन्दै कक्ष बनाउने ‘गुरुयोजना’ रहेको केन्द्रीय कारागारका जेलर गणेश भट्टराईले बताउनुभयो ।

“दशवटा ब्लक रहने कारागारमा जघन्य अपराधमा संलग्न, मानसिक बिरामी तथा २१ वर्षभन्दा कम र माथि उमेरका कैदीलाई राख्न भिन्न/भिन्न भवन बनाइने छ,” जेलर भट्टराईले भन्नुभयो, “कैदीबन्दीको प्रजनन अधिकार रक्षाका लागि दम्पत्ती भेटघाट कक्षसमेत बनाउने कार्यका लागि अध्ययन भइरहेको छ ।”

उहाँकाअनुसार संघीय संरचनाअनुसार यो कारागार केन्द्रीय कारागार हुने र सात प्रदेशमा प्रादेशिक कारागार तथा सबै जिल्लामा एक/एक कारागार छुट्टै बनाउने लक्ष्य छ ।

निर्माणाधिन केन्द्रीय कारागारमा खेल मैदान, अस्पताल, विद्यालय एवं क्याम्पस, पुस्तकालय, सीप प्रवद्र्धन केन्द्र, योगकेन्द्र र किरियापुत्री कक्ष रहने गरी योजना तयार भएको छ ।

प्रतिक्रिया दिनुहोस्