पाकिस्तानको चरमपन्थी संगठनका तीन नेताको सूचना दिनेलाई अमेरिकाले राख्यो करोडौंको इनाम



एजेन्सी, २५ फागुन । अमेरिकाले चरमपन्थी संगठन तहरीक ए तालिबान पाकिस्तान अर्थात् टीटीपीका नेता मौलाना फजुल्लाहमाथि ५० लाख डलर झन्डै ५० करोड रुपैयाँको इनाम राखेको छ । फजुल्लाहका अलावा अब्दुल वली र मंगल बाघको बारेमा जानकारी दिनेलाई पनि तीस–तीस करोडको इनाम राखेको अमेरिकी विदेश विभागका प्रवक्ताले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकी विदेश विभागले न्यायका लागि इनाम (आरएफजे) अन्तर्गत यो पुरस्कारको घोषणा गरेको हो । यी चरमपन्थीहरुको बारेमा जानकारी दिने र उनीहरुको ठेगाना बताइदिने व्यक्तिलाई यो पुरस्कारको व्यवस्था गरिएको छ । पाकिस्तानका शीर्ष राजनीतिज्ञ तथा विदेश सचिव तहमीना जंजुवाको दुई दिने अमेरिका भ्रमणकै समयमा अमेरिकाले यस्तो घोषणा गरेको हो । अमेरिकाको यो निर्णपछि अमेरिका भ्रमण गर्ने जंजुआ पाकिस्तानकी वरिष्ठ राजनीतिज्ञ हुन् ।

मौलाना फजुल्लाह
मौलाना फजुल्लाहलाई सन् २०१३ मा तहरीक ए तालिबान पाकिस्तानको प्रमुख नियुक्त गरिएको थियो । फजुल्लाहलाई १६ डिसेम्बर २०१४ मा पेशावरको सैनिक स्कुलमा भएको हमलाको मास्टरमाइन्ड मानिन्छ । यो हमलामा १३१ छात्रासहित १५१ जनाको ज्यान गएको थियो ।

अब्दुल वली
अब्दुल वली चरमपन्थी संगठन जमात उल अहरार(जेयूए) का प्रमुख हुन् । जेयूए तहरीक ए तालिबान पाकिस्तानबाट अलग भएको चरमपन्थी संगठन हो । यो समूह पाकिस्तानको पञ्जाब प्रान्तमा सक्रिय रहेको छ । वलीले पाकिस्तानमा भएका कैयौँ आत्मघाती आक्रमणको जिम्मेवारी लिएका छन् ।

मंगल बाघ
अमेरिकाले आफ्नो सूचीमा चरमपन्थी संगठन लश्कर ए इस्लामका प्रमुख मंगल बाघलाई समेत राखेको छ । लश्कर ए इस्लाम पनि तहरीक ए तालिबान पाकिस्तानबाट नै अलग भएको एउटा हिस्सा हो । यो मुख्य रुपमा अफगानिस्तानमा तैनाथ भएका नेटोका सैन्य क्याम्प वरपर सक्रिय रहेको छ । सन् २००७ मै पाकिस्तान सरकारले पनि मंगल बाघमाथि ,इनामको घोषणा गरिसकेको छ । पाकिस्तान सरकारले मंगल बाघका बारेमा सूचना दिने तथा उनको गिरफ्तारीमा सघाउने व्यक्तिलाई ६० लाख रुपैयाँको पुरस्कार घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्