भुटानकी महारानी तिलौराकोट भ्रमणमा



तौलिहवाः गौतम बुद्धको जन्मस्थल अवलोकनका लागि भुटानकी महारानी आसी साङ्दे छोडेङ्ग वाङ्चुक शुक्रबार कपिलवस्तु आएकी छन् । विहीबार दिउँसो जिल्लामा आएकी उनले निग्रोधराम कुदान र बुद्धको क्रिडास्थल तिलौराकोट दरबारको अवलोकन गरिन् ।

महारानी वाङ्चुकले गौतमबुद्धले ज्ञान प्राप्त गरी पहिलो पटक कपिलवस्तु आउँदा आमा–बुवासँग भेट गरेको महत्वपूर्ण मानिएको स्थल निग्रोधराम, २९ वर्ष बिताएको ठाउँ तिलौराकोट र यहाँ उत्खनन् गरिएका पूर्वी र पश्चिमीद्वार, सुरक्षा पर्खाल लगायतको अवलोकन गरेकी हुन् ।

महारानी बाङ्चुकले अवलोकन गरेको तिलौराकोटमा हालै उत्खनन गरिँदा प्राचीन तिलौराकोट दरबारका थप प्रमाणहरु भेटिएका छन । तिलौराकोट दरबार बुद्धकालिन भन्दा तीन सय वर्षअघि नै ब्यवस्थित सहर रहेको तथ्य भेटिएको छ । बुद्धको जन्म २५ सय वर्षअघि भएको इतिहासमा छ । तर त्यस भन्दा अघि नै यहाँ मानव सभ्यता र शहर रहेको पुष्टी भएको कुरा पुरातत्व अधिकृत हिमाल उप्रेतीले महारानी वाङ्चुकलाई जानकारी गराएका थिए ।

अवलोकनपछि पुरातात्विक क्षेत्र उत्खनन कार्यमा पुरातत्वविद्को भूमिकाबारे महारानी वाङ्चुकले सरहाना गरेकी थिइन् । यसअघि, शुक्रबार बिहान महारानी वाङ्चुकलाई निग्रोधराम कुदानमा लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवाली, कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह, प्रमुख जिल्ला अधिकारी मदन भुजेललगायतले स्वागत गरेका थिए ।

उनलाई निग्रोधराम कुदान र तिलौराकोट दरबार क्षेत्रकाबारेमा पुरातत्व अधिकृत हिमाल उप्रेतीले पथ प्रर्दशन गरेका थिए । लुम्बिनी भ्रमणमा रहेकि महारानी वाङ्चुक त्यहाँबाट तिलौराकोट अवलोकनका लागि कपिलवस्तु आएकी हुन् । (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्