भ्रष्टाचारीलाई जेल हालिन्छ : नेता नेपाल



रौतहट, २५ फागुन

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले वाम गठबन्धनको सरकारले भ्रष्टाचारीलाई जेल हाल्ने बताउनुभएको छ ।

जिल्लाको यमुनामाई गाँउपालिका झुनखुन्वामा कालोपत्रे सडक शिलान्यास गर्दै उहाँले भन्नुभयो, “यदि कसैले भ्रष्टाचार गरेको छ भने अहिले नै फिर्ता गर नत्र पछि कुनै शीप लाग्दैन पछुतोमा पर्ने छ ।”

स्थानीय निकायमा राम्रो काम गर्नेलाई पुरस्कार र भ्रष्टाचार गर्नेलाई जेल हाल्ने वाम सरकारको योजना रहेको उहाँले प्रस्ट पार्नुभयो ।

गौर गरुडा चन्द्रपुर सडकखण्डको उदाहरण दिँदै उहाँले आज शिलान्यास भएको विभिन्न ठाँउका ५२ किलोमिटर कालोपत्रे सडक पनि त्यस्तै मजबूत बनाउन ठेकदार र कर्मचारीको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधिसभा सदस्य प्रभू साहले निर्वाचनअघि आफूले सार्वजनिक गरेको घोषणापत्रमा यस क्षेत्रलाई धुवारहित बनाउने योजनाअनुसार दुईसय परिवारलाई ग्यास सिलिण्डर, ग्यास र चुल्हो वितरण गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्