१७ दिनको तालिम तीन दिनमै !



गोरखा : १७ दिनसम्म सञ्चालन गर्नुपर्ने दुईवटा तालिम घरेलु तथा साना उद्योग विकास समितिले तीन दिनमा सम्पन्न गरेको छ । चुमनुब्री गाउँपालिका ३ सिर्दिबासमा बिभिन्न दुई शीर्षकमा फरक फरक मितिमा हुनुपर्ने तालिम बुधबारदेखि सुरु गरेर शुक्रबार सम्पन्न गरिएको हो ।

१० दिनसम्म सञ्चालन गर्नुपर्ने उद्यमशीलता विकास तालिम र सात दिनसम्म सञ्चालन गर्नुपर्ने होटल व्यवस्थापन तालिम तीन दिनमा सम्पन्न भएको गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङले जानकारी दिइन् ।

उद्यमशीलता विकास तालिम फागुन १६ गतेदेखि सुरु गरेर २५ गते सम्पन्न गरिएको प्रमाणपत्रमा उल्लेख छ । त्यस्तै होटल व्यवस्थापन तालिम १९ गतेदेखि २५ गतेसम्म सञ्चालन गरिएको उल्लेख छ ।

‘१७ दिनसम्म तालिम लिएर बस्न गाउँलेलाई पनि फुर्सद भएन त्यही भएर चाँडै टुंग्याइएको हो’ गुरुङले भनिन् ‘तालिममा २० जना सहभागी थिए ।’ तालिममा सहभागीलाई दुई थरीको तालिमको दिनको एकसय रुपियाँका दरले भत्ता पनि दिइएको उनले बताइन् ।

१७ दिन लगाएर सिकाउनुपर्ने दुई छुट्टाछुट्टै तालिमको प्रशिक्षण प्रशिक्षक अजय यादवले दिएका हुन् । सहभागी र प्रशिक्षक दुवैलाई तालिम भत्ता भने १७ दिनकै दिइएको सहभागीले जनाएका छन् । निमित्त उद्योग अधिकृत कमलप्रसाद महतो भने कार्यक्रमस्थलमा पुग्न नसकी माछाखोलाबाटै फर्केका थिए । तर सहभागीलाई प्रदान गरिएको प्रमाणपत्रमा टिपेक्स लगाएर महतोकै हस्ताक्षर गरिएको छ ।

दुर्गममा केन्द्र, प्रदेश र जिल्ला सरकारको ध्यान नजाने भएकाले घरेलु उद्योग विकास समितिले मनपरी गरेको एक स्थानीयले जानकारी दिए । ‘१७ दिनसम्म चलाउनु पर्ने तालिम तीन दिनमा गर्ने भनेको त अति नै भयो नि’ एक स्थानीयले भने ‘त्यहीँमाथि एकै समयमा, एउटै सहभागीलाई दुईथरी तालिम लिएको भनेर प्रमाणपत्र प्रदान गरिएको छ । दुर्गम ठाउँ भन्दैमा यसरी हेप्न त हुदैँन नि ।’ सरकारी कार्यालयले फर्जी काम गरेको उनले बताए । (अन्नपुर्ण पोस्ट)

प्रतिक्रिया दिनुहोस्