चोरीको आरोप लागेको भोलिपल्टै जापान उडे भुवन, अनमोल पनि साथमा



सदाबहार नायक भुवन केसीलाई बुधबार चोरीको आरोप लागेको समाचार बाहिरियो । चलचित्र ‘सम्झना’मा समावेश ‘उकालीमा पछि पछि’ बोलको गीतलाई अनुमति बेगर आफ्नो चलचित्र ‘कृ’मा समावेश गरेपछि भुवनबिरुद्ध चलचित्र ‘सम्झना’का निर्देशक शम्भु प्रधानले टेकु प्रहरीमा उजुरी गरेका थिए ।

निर्देशक शम्भु प्रधानले ‘सम्झना’को गीत ‘कृ’ मा प्रयोग गरेबापत ‘कृ’को कमाईको आधा कमाई आफुले पाउनेपर्ने बताईरहेका छन् । यसरी भुवन बिरुद्ध प्रहरीमा उजुरी दर्ता भईरहँदा उनी भने जापान उडेका छन् । उजुरी परेको समाचार बाहिरएको भोलिपल्टै भुवन र अनमोल जापान उडेका हुन् ।

जापानमा हुने चलचित्र ‘कृ’को बिशेष शो को लागि उनीहरु जापान उडेका हुन् । ११ मार्चमा जापानको राजधानी टोकियोको नाकानो जिरो हलमा हुने बिशेष शोमा सहभागी हुन भुवन र अनमोल सँगै अर्का निर्माता सुवास गिरी पनि जापान गएका छन् । ओम शान्ति ओम इंटरटेनमेन्टको प्रस्तुतीमा हुन लागेको चलचित्र साँझ ६ बजे प्रदर्शन हुनेछ ।

नेपालका हलहरुबाट उत्रिसकेको चलचित्रले नेपालबाट आफ्नो लगानी समेत उठाउन सकेको थिएन । ३ करोडको लगानीमा बनेको चलचित्रले नेपालको कलेक्सन, डिजिटल तथा विदेशको राईट्सबाट आफ्नो लगानी भने सुरक्षित गरिसकेको छ ।

सुरेन्द्र पौडेल निर्देशित चलचित्रमा अनमोल केसीलाई दुई अवतारमा देखाईएको छ । चलचित्रमा अनमोल एक्सनको साथमा लवर ब्वाईको रुपमा पनि देखिनेछन् । सुवास इंटरटेनमेन्ट र काजल फिल्म्सको संयुक्त ब्यानरमा बनेको चलचित्रमा अनमोलको जोडीको रुपमा अदिती बुढाथोकी छिन् ।

चलचित्रमा अनमोल र अदितीको साथमा अनुपबिक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राणा लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रमा प्रदीप भारद्धाज र आशिष रेग्मीको संबाद तथा पटकथा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्