झापा,२६ फागुन
झापाको कनकाई नगरपालिका आजबाट पूर्णरुपमा विद्युत् चुहावटमुक्त नगर घोषणा भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस नगरपालिकालाई पूर्णरुपमा विद्युत् चुहावटमुक्त नगर घोषणा गर्नुभएको हो ।
नगरपालिकाको गत माघ १६ गतेको नगरपरिषद्को निर्णयअनुसार आजबाट पूर्णरुपमा विद्युत् चुहावटमुक्त नगर घोषणा गर्ने नेपालकै पहिलो नगरपालिकाका रुपमा स्थापित भएको छ ।
नगरका कूल ८० प्रतिशत जनताले विद्युत् सेवा प्राप्त गरेका छन् । बाँकी रहेका जनतालाई पनि आगामी दुई वर्षभित्र विद्युत् सेवा उपलब्ध गराई पूर्णरुपमा विद्युत् सेवा प्राप्त नगरकारुपमा घोषणा गर्ने योजना रहेको नगरप्रमुख राजेन्द्रकुमार पोख्रेले जानकारी दिनुभयो ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरेर इतिहास कायम गरेकोमा नगरपालिकालाई बधाई दिँदै थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नगरपालिकामा ५५ हजार जनसंख्या रहेका छन् भने ११ हजार घरधुरी रहेको नगरप्रमुख पोख्रेलको भनाइ छ । (रासस)