क्यारेबियन र जनताको जित



काठमाडौं– क्यारेबियन कलेज र जनता उच्च माविले युनिभर्सिटी क्लब क्रिकेट प्रतियोगितामा जित हात पारेका छन्।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएका खेलमा क्यारेबियन कलेजले के एन्ड के कलेजलाई ९ विकेट तथा जनता उच्च माविले ओमेगा कलेजलाई १० रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेका हुन्।

शनिबारको पहिलो खेलमा के एन्ड के कलेजले दिएको १ सय ५ रनको लक्ष्य क्यारेबियन कलेजले ९.४ ओभरमा भेटाउँदै सानदार विजयी सुरुआत गरेको हो । क्यारेबियनको जितमा ओपनर जयप्रकाश गुप्ताले २९ बल खेल्दै ६ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ४६ रन जोडे । २७ बल खेलेका अर्का ओपनर पंकज दासले ७ चौका र १ छक्काको मद्दतमा ४५ रन जोडे । क्यारेबियनको एक मात्र विकेट के एन्ड केका प्रतीक अधिकारीले लिएका थिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको के एन्ड केले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ४ रन जोडेको थियो । के एन्ड केका ओपनर कुन्दन यादवले सर्वाधिक २८ रन जोड्दा राम भट्टराईले १५ रन जोडे । गौरीशंकार दास १८ रनमा अविजित रहे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ क्यारेबियनका असिफ पौडेल र गणेश भट्टले समान २÷२ विकेट लिए भने महेन्द्र शर्मा र तक्षक सिंखडाले समान १÷१ विकेट लिए।

शनिबारै सम्पन्न दोस्रो खेलमा १ सय २५ रनको लक्ष्य पछ्याउने क्रममा ओमेगा कलेजलाई १ सय १४ रनमा समेटेपछि जनता उच्च मावि १० रनले विजयी भयो ।टस जितेर पहिलो ब्याटिङ गरेको जनता उच्च माविले निर्धारित २० ओभरको समाप्तिमा ४ विकेट गुमाएर १ सय २४ रन जोडेको थियो।

जनताका लागि ओपनर दीपेश दासले सर्वाधिक ६१ रनको इनिङ खेले । ५६ बलको सामना गरेको दासले ५ चौका र २ छक्का प्रहार गरेका थिए । २४ बल खेल्दै २४ नै रन बनाएका निराजन केसी स्टम्पिङ हुँदा सागर क्षत्रीले २ तथा प्रकाश न्यौपानेले अविजित २६ रन जोडेका थिए ।१ सय २५ रनको लक्ष्यका साथ जबाफी ब्याटिङ गर्न आएको ओमेगाले २० ओभरमा १ सय १४ रन बनाउन सक्यो । ओमेगाका लागि सुविन बोगटीले सबैभन्दा धेरै अविजित २७ रन जोडे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

ओपनर अभियान बस्नेतले १३ रन जोड्दा हरिकृष्ण शाह र नवीन यादवले समान १२÷१२ रन जोडे । किफायती बलिङ गर्ने क्रममा जनता उच्च माविका अनुप कोइराला र संवद्र्धन दवाडीले समान २÷२ विकेट लिए भने विनोद शाहीले १ विकेट लिए ।प्रतियोगितामा आइतबार शंकरदेव कलेज र युनिग्लोब कलेज तथा नेपाल कमर्स क्याम्पस र कसमस कलेजबीच खेल हुनेछ ।१६ टिमलाई दुई समूहमा विभाजन गरी नकआउट प्रणालीमा सञ्चालन गरिएको प्रतियोगिता चैत्र २ गतेसम्म सञ्चालन हुनेछ। (नागरिक न्युज)

प्रतिक्रिया दिनुहोस्