भोलि मनोनयन दर्ता, ३० फागुनमा निर्वाचन
राष्ट्रिय सभा अध्यक्षका लागि एमालेका पर्शुमेघी गुरुङ र गणेशप्रसाद तिमिल्सेना दाबेदार देखिएका छन् । वाम गठबन्धनको सहमतिअनुसार राष्ट्रिय सभा अध्यक्ष एमालेको भागमा परेपछि गुरुङ र तिमिल्सेना दाबेदार देखिएका हुन् ।
राष्ट्रिय सभा अध्यक्षको पनि प्रतिनिधिसभाका सभामुखको जस्तै भूमिका हुने संवैधानिक व्यवस्था छ । यसमा एमाले नेता गुरुङको सम्भावना देखिएको छ । उनी ०४८ र ०५६ मा संखुवासभाबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनले त्यस वेला एमाले संसदीय दलको सचेतक भएर पनि काम गरेका थिए ।
०५१ मा एमाले संखुवासभा जिल्ला अध्यक्ष भएका गुरुङ संविधानसभा निर्वाचनमा उम्मेदवार बनेनन् । संसद्को लामो अनुभवसँगै राष्ट्रिय सदस्यमध्ये वरिष्ठ भएकाले पनि अध्यक्ष पाउनुपर्ने गुरुङको दाबी छ । ‘प्रकृति फरक भए पनि पहिलेदेखि नै काम गर्दै आएको छु, अध्यक्षको जिम्मेवारी पाए, चलाउन सक्छु,’ उनले भने ।
यस्तै, एमाले नेता तिमिल्सेना प्रदेश ४ बाट राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका हुन् । एमालेभित्र पुराना नेता भए पनि अवसर नपाउनेमा पर्छन्, तिमिल्सेना । उनी पञ्चायती व्यवस्थामा चार वर्षसम्म जेल बसेका थिए । पार्टीमा लामो समय काम गरेकाले राष्ट्रिय सभाको अध्यक्ष पाउनुपर्ने तिमिल्सेनाको दाबी छ । उनी पहिलोपटक राष्ट्रिय सभामा सांसद भएका हुन् ।
यस्तै, अनेरास्ववियुका पूर्वअध्यक्ष एवं एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले पनि अध्यक्षमा दाबी गरेका छन् । तर, उनलाई प्रमुख सचेतक वा सचेतकमध्ये एकमा व्यवस्थापन गर्ने तयारी भएको एमाले स्रोतले जनाएको छ ।
भोलि मनोनयन दर्ता
राष्ट्रिय सभा अध्यक्षको मनोनयन दर्ता सोमबारका लागि तोकिएको छ । बुधबार निर्वाचन हुने कार्यक्रम तय गरिएको छ ।
सोमबार उम्मेदवारी दर्ताको समय भए पनि शनिबार बेलुकासम्म एमालेले अध्यक्षका उम्मेदवारको टुंगो लगाएको छैन । एमाले नेता प्रदीप ज्ञवालीले राष्ट्रिय सभाको अध्यक्षको आइतबार बेलुकासम्म टुंगो लगाउने बताए । ‘हामी अन्य विषयमा अल्झिएकाले राष्ट्रिय सभा अध्यक्षका विषयमा छलफलसमेत गरेका छैनौँ,’ नेता ज्ञवालीले भने, ‘आइतबार छलफल गरेर उम्मेदवारको टुंगो लगाउँछौँ।’
राष्ट्रिय सभामा कुल ५९ जनामध्ये ५६ जनाले मात्र भोट हाल्न पाउँछन् । एमालेबाट २७, कांग्रेस १३, माओवादी १२, फोरम दुई र राजपा दुई सदस्य छन् । त्यस्तै, राष्ट्रपतिबाट तीनजना मनोनीत भएका छन् ।
माओवादी नेता शर्माको पनि दाबी
राष्ट्रिय सभाका सदस्यमध्ये सबैभन्दा वरिष्ठ भएकाले अध्यक्ष पाउनुपर्ने माओवादी नेता दिननाथ शर्माले पनि दाबी गरेका छन् । ‘अध्यक्ष प्रचण्डले राष्ट्रिय सभाको अध्यक्ष एमालेलाई दिने सहमति गरिसक्नुभएकाले नैतिक रूपमा दाबी गर्ने अवस्था छैन,’ शर्माले भने, ‘भविष्यमा एमाले माओवादी एउटै पार्टी हुने भएकाले अनुभवी एवं सिनियर नेताको हिसाबले म हुँदा ठीकै हुन्थ्यो ।’ एमाले नेताले अध्यक्षको जिम्मेवारी दिए, लिन तयार रहेको उनको भनाइ छ ।
उपाध्यक्ष टुंगो लागेन
राष्ट्रिय सभाको उपाध्यक्ष माओवादी भागमा परेको हो । तर, संघीय समाजवादी फोरमसँग वार्ता जारी भएकाले उपाध्यक्षको निर्णय गरिएको छैन । फोरमले तीन मन्त्रीसहित सभामुख वा राष्ट्रिय सभाको अध्यक्षमध्ये एक पाउनुपर्ने दाबी गरेको छ । तर, एमाले–माओवादीले दुई मन्त्रीसहित एक राज्यमन्त्री दिने गरी छलफल अगाडि बढाएका छन् । फोरमसँगको वार्ता टुंगिएपछि मात्र माओवादीले उपाध्यक्षको टुंगो लगाउने भएको छ । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन ४ चैतमा हुँदै छ । (नयाँ पत्रिका)