पोखरामा मापदण्ड मिचेर निजी संरचना बनाइँदै



प्रदेश ४ को अस्थायी राजधानी पोखरामा मापदण्ड मिचेर निजी संरचना बनाउने क्रम बढेको छ । मुख्य पर्यटकीय केन्द्रका रूपमा रहेको लेकसाइड, सेती नदीको किनार, फिर्केखोलालगायतका स्थानमा सडक अतिक्रमण गरेर संरचना बनाउने क्रम बढेको हो ।

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष रामबहादुर पौडेलले समितिकोे तर्फबाट पटक–पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदासमेत अतिक्रमण रोक्न पहल नभएको बताए ।

पोखरा–लेखनाथ महानगरपालिका–१ का वडाध्यक्ष शारदा पराजुलीले मापदण्डविपरीतका संरचना भत्काउन खोज्दा पनि साथ नपाएको दुखेसो पोखिन् ।

‘मेयरकै समन्वयमा सेती नहरको मापदण्ड मिचेर बनाइएको संरचना भत्काउन सुरु गर्दै थिएँ,’ उनले भनिन्, ‘पछि मेयरसापले नै दुई दिनलाई रोक्नुहोस् भन्नुभयो, अहिलेसम्म काम गर्न पाएको छैन, जनताले सोध्दासमेत जवाफ दिन लाज भइसक्यो ।’

निरीह बने जनप्रतिनिधि
निर्वाचित वडाध्यक्षहरूले आफ्नो वडामा सार्वजनिकस्थल मिचेर र मापदण्डविपरीत बनाउन लागेका निजी संरचना रोक्न पहल गरे पनि त्यसले सार्थकता पाउन सकेको छैन । पोखराको सिद्धार्थचोकमा तला थप्ने स्वीकृति लिएर जगैदेखि घर निर्माण गर्ने क्रम जारी छ ।

वडा नम्बर ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोलाले पोखरा–४ सिद्धार्थचोकमा शालिगराम घिमिरे आफँैलाई तला थपको स्वीकृतिका लागि सिफारिस गरेको तर काम अर्कै भएको बताए ।

उनी भन्छन्, ‘मैले तला थप्ने मात्र सिफारिस गरेको हुँ, तर जगदेखि नै खारेर त्यहाँ बनाइएको छ, बैठकमै कुरा उठाउँदासमेत चित्तबुझ्दो जवाफ पाएको छैन ।’

कर्मचारीको मिलेमतो रहेको आशंका
मापदण्डका कारण भवन भत्काएर बनाउन नपाएपछि तला थपको स्विकृति लिएर पुनः निर्माण गर्नेहरू पोखरामा धेरै छन् ।

महानगरले यसरी संरचना पुनः निर्माण गर्दा आँखा चिम्लने गरेको छ । बाहिरी फ्रेम राख्ने र भित्रभित्रै डोजर चलाएर यस्ता संरचना पुनः निर्माण गरिन्छ ।

अन्तिममा अगाडिको डिजाइन दिँदै भव्य महल ठड्याइन्छ । यस्ता कार्यमा स्वयं महानगरका कर्मचारीकै मिलेमतो रहने आशंका जनप्रतिनिधिको छ ।

वडा–१ की वडाध्यक्ष पराजुलीले आफ्नो वडामा सेती नदी र सडकको मापदण्डले नक्सापास नहुने स्थलमा नक्सापासको सिफारिस नलिई घर बनेको बताइन् ।

आफैं गएर नक्सापास नगरी बनाएको घरमा बत्ती पानी जोड्न पाउनुहुन्न किन बनाउनुभयो भन्दा महानगरका कर्मचारीले मिलाइदिने जवाफ दिएको बताइन् ।

‘हाम्रो सिफारिस छैन, मापदण्ड मिचिएको छ, कसरी बत्ती पानी जोड्ने स्वीकृति लिँदा रहेछन् मैले पनि हेर्छु भनेकोे छु,’ उनले भनिन् ।

अतिक्रमण गरेर बनाएका संरचना भत्काइन्छ : कार्यकारी अधिकृत
पोखरा लेखनाथ महानगरका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले मापदण्ड मिचेर बनाइएका संरचना भत्काइने बताए ।

पछिल्लो समय अतिक्रमण बढेको स्वीकार गर्र्दै उनले कानुन निर्माण गरेर कडाइका साथ लाग्ने उल्लेख गरे । मापदण्ड मिच्नेहरूसँग कर्मचारीको मिलेमतोलाई भने उनले अस्वीकार गरेका छन् ।

‘कर्मचारीको मिलेमतो हुन सक्दैन, नक्सापास नगर्नेलाई पानी, बिजुली बत्ती जोड्ने काम हुँदैन’ उनले भने, ‘तला थप स्वीकृति लिएर जगैदेखि पुनः बनाएका संरचना भत्काउँछौँ ।

कडाइ गर्छौ : मेयर जिसी
मेयर मानबहादुर जिसीले महानगर अब कडाइका साथ प्रस्तुत हुने बताए । महानगरले कानुन नबनाइसकेको अवस्था, कर्मचारी अभाव र निर्वाचनलगायतका अवसर पारेर माफियाहरूले अतिक्रमण गरेको स्विकारे ।

उनले फेवाताल, फिर्के बुँलौदी, सेती किनार र सार्वजनिक जमिनका साथै सडक मापदण्ड मिचेर निर्माण गरिएका र गर्दै गरिएका सबै संरचना हटाउने जानकारी दिए ।

कतिपय स्थानमा निर्माण सामग्री नै जफत गर्दासमेत निर्माण नरोकिएको भन्दै उनले आक्रोशसमेत पोखे । उनले सबैलाई कानुनको दायरामा ल्याउने प्रतिबद्धतासमेत जनाए ।

मापदण्ड हेरफेर गर्दै महानगर
पोखरामा मापदण्डअनुसार साढे दुई तलाभन्दा अग्ला घर बनाउन पाइँदैन । यहाँ अहिले नहर कुलोलाई बाटो मानेर घर नक्सापास भएका, तीन तलाको स्वीकृति लिएर आठ तलासम्मका घर बनेका छन् ।

नियमअनुसार बनेका अहिलेका संरचना नबिग्रने गरी ५० वर्षसम्म हुने गरी मापदण्ड बनाउन लागेके मेयर मानबहादुर जिसीले जानकारी दिए ।

महानगरले आउँदो नगरपरिषद्मा पेस गर्ने गरी नयाँ मापदण्ड प्रस्ताव गर्न वडा नम्बर–१९ का वडाध्यक्ष शोभामोहन पौडेल संयोजक रहेको विधानसमिति बनाएको छ ।

उक्त समिति भवन निर्माण तथा नक्सापास निर्देशिकाको पुनरवलोकन र संशोधनमा व्यस्त छ । समितिले काठमाडौंबाट विज्ञ डाकेर उनीहरूको रायसमेत समेटी मापदण्डमा हेरफेर गर्ने जनाएको छ ।

पौडेलका अनुसार सेती नदीको मापदण्ड ५० मिटर र अरू खोलाको ३० मिटर कायम गर्नुपर्नेलगायतका सुझाब आएका छन् । फेवातालको ६५ र रूपातालको एकसय मिटरको पुरानै मापदण्ड उपयुक्त हुने सुझाब छन् ।

विज्ञको सुझाब
महानगरले पोखरामा कस्तो मापदण्ड लागू गर्दा उपयुक्त हुने भन्ने विषयमा राजधानीबाटै विज्ञ मगाएर छलफल गरेको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त इन्जिनियर भाइकाजी तिवारीले राम्रो मापदण्ड बनाएर कार्यान्वयन गरेमा सहर व्यवस्थित हुने बताए ।

विज्ञका रूपमा डाकिएका आर्किटेक्ट दामोदर आचार्यले पूरै सहरको गुरुयोजना बनाएर मात्रै घरजग्गा, बाटो र नक्सासम्बन्धी मापदण्ड निर्माण गर्न सुझाएका छन् ।

अर्का आर्किटेक्ट निमेषराज भट्टराईले काठमाडौंजस्तै पोखरा पनि अव्यवस्थित बन्न लागेको तर्क गरे । महानगरले राखेका विज्ञ इन्जिनियर किसानसिंह गुरुङले पोखराको भूगर्भ कतिपय ठाउँमा कमजोर रहेको हुँदा मापदण्ड सबैतिर एउटै हुन नसक्ने बताए । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्