काठमाडौं- ‘बोक्सीकाण्ड’ मा मुछिएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि नेकपा एमालेले कारवाही प्रक्रिया अघि बढाएको छ ।
प्रहरीबाट दोषी छुटाउनेहरुलाई तत्काल कारवाही गर्न प्रधानमन्त्री कार्यालयले समेत कैलाली जिल्ला प्रशासनलाई निर्देशन दिएको छ । गत विहीबार स्थानीय युवती राधा चौधरीमाथि झाँक्री रामबहादुर चौधरीले दुर्व्यबहार गर्दा मेयर ममताप्रसाद चौधरी रमिते बनेको समाचार आएपछि एमालेले उनीसँग स्पष्टीकरण लिएको छ ।
मेयर चौधरी एमाले जिल्ला कमिटी सदस्य तथा बुद्धिजीवी परिषदका जिल्ला उपाध्यक्षसमेत हुन् । पार्टीले चौधरीसँग मौखिक स्पष्टीकरण लिइसकेको र अब छानविन कमिटी गठन गरी थप प्रक्रिया अघि बढाउने जिल्ला इन्चार्ज तथा कैलाली २ का सांसद झपट रावलले अनलाइनखबरलाई बताए ।
तत्काल कैलाली जिल्ला कमिटी पदाधिकारी बैठक राखेर छानविन समिति गठन गर्न आफूले जिल्ला अध्यक्षलाई निर्देशन दिइसकेको रावलले बताए । यसैवीच प्रधानमन्त्री कार्यालयले समेत आइतबार एक प्रेस नोट जारी गर्दै प्रहरीबाट अपराधीहरु छुटाउने कार्यमा संलग्नमाथि तत्काल छानविन गरी दोषीउपर कारवाही गर्न सिडियो कार्यालयलाई निर्देशन दिएको छ ।
मेयर चौधरीको दोष देखिए पार्टीले कडा कारवाही गर्ने जिल्ला इञ्चार्ज रावलले बताए । चौधरीको भूमिकाका बारेमा पार्टी केन्द्रबाट सोधपुछ भएपछि जिल्ला कमिटीले छानविन थालेको हो ।
अपराधीलाई छुटाउने कार्यमा मेयरको संलग्नबारे पार्टीका उपाध्यक्ष तथा ७ नम्बर प्रदेश संयोजक भीम रावलले चासो राखेपछि जिल्ला कमिटी बैठक बस्न लागेको हो । जिल्ला कमिटीबाट ३ सदस्यीय छानविन कमिटी गठन गर्न लागिएको अध्यक्ष दीर्घ सोडारीले बताए ।
घटनामा दोषी जो भए पनि कारवाही गर्न आफूले जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई पनि भनिसकेको रावलले बताए । उनले अनलाइनखबरसँग भने-मैले आजै पनि मेयर चौधरीसँग लामो कुराकानी गरेँ । उनले आफ्नो संलग्नता अस्वीकार गरेका छन् । प्रहरीले पनि मेयरले मान्छे छुटाएको कुरा अस्वीकार गरेको छ । तर, उनी विवादमा परिसकेकाले छानविन हुन्छ र दोषी भए कारवाही हुन्छ ।
जिल्ला इञ्चार्ज रावलले घटनामा चौधरीको संलग्नता नभए पनि उनले मिडियामा दिएको प्रतिक्रिया संवेदनाहीन देखिएको बताए । यदि घटनाका बेला मेयर रमितेमात्र बनेको हो भने त्यो सैहृय नहुने भन्दै एमालेले दोषीलाई जोगाउने भूमिका नखेल्ने उनले बताए ।