क्युबामा संसद्का लागि मतदान हुदै, क्याष्ट्रो युग अन्त्यको सम्भावना



हवाना, २७ फागुन

क्युबाको नयाँ राष्ट्रिय संसद्का लागि आइतबार मतदान सुरु भएको छ ।

यस आम निर्वाचनमा साठी वर्षदेखि शासन सत्ताको नेतृत्व गरिरहेको क्याष्ट्रो परिवारको बहिर्गमन हुने भएकाले यो निर्वाचनलाई महत्वपूर्ण प्रक्रियाको रुपमा हेरिएको छ ।

आइतबार भएको निर्वाचनपछि बन्ने नयाँ राष्ट्रिय संसद्ले क्याष्ट्रो परिवार भन्दा बाहिरबाट नयाँ राष्ट्रपति चयन गर्नेछ ।

वर्तमान राष्ट्रपति ८६ वर्षीय राहुल क्याष्ट्रो आउँदो महिना राष्ट्रपति पदबाट बाहिरिने लगभग निश्चित भएको बताइएको छ ।

राहुलले सन् २००६ मा आफ्ना दाजु फिडेलमार्फत् राष्ट्रपति पदको जिम्मेवारी लिनुभएको थियो । फिडेलले सन् १९५९ को विद्रोहदेखि देशको शासन सत्ताको नेतृत्वगर्दै आउनुभएको थियो ।

सन् २०१६ मा फिडेलको मृत्यु भएपछिको यो पहिलो आमनिर्वाचन भएकाले यसलाई वंश राजनीतिमा आउने परिवर्तनका रुपमा लिइएको छ ।

यस निर्वाचनबाट झण्डै ८० लाख क्युबाली जनताले नयाँ संसदको चयन गर्नेछन् । चुनावी मैदानमा उत्रिएका उम्मेदवार क्युबाली कम्युनिष्ट पार्टी, वा ट्रेड युनियनको सदस्य बन्नुपर्ने छ ।

गतवर्ष निर्वाचन घोषणागर्दा राष्ट्रपति राहुल क्याष्ट्रोले भन्नुभएको थियो– क्षमता र राष्ट्र निर्माणमा प्रतिबद्धता भएका उम्मेदवार छान्न म सबै नागरिकलाई आग्रह गर्दछु ।

चुनावी मैदानमा उत्रिएका उमेद्वारमध्ये झण्डै आधा अर्थात् ३२२ जना महिला उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्