काठमाडौँ — एक खुट्टाको भरमा नाच देखाएर चर्चा बटुलेकी कलाकार रोमा न्यौपानेलाई प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । ठगी मुद्दाको फरार अभियुक्त रहेकी न्यौपाने लामो समयदेखि प्रहरीको आँखा छलेर लुक्दै आएकी थिइन् ।
१२ फागुनमा प्रहरीले पक्राउ गरे पनि महानगरीय प्रहरी वृत्त दरबारमार्ग र लैनचौर वृत्तले मुद्दाको गम्भीरता बुझ्दै नबुझी उनलाई त्यसै छोडिदिएको थियो। वृत्तको गल्ती सच्याउँदै प्रहरी परिसर काठमाडौंले १३ फागुनमा न्यौपानेलाई पक्राउ गर्न काठमाडौंका सबै वृत्तमा सर्कुलर गरेपछि उनको खोजी व्यापक पारिएको थियो।
न्यौपानेविरुद्ध कोहीनूर बस्नेत, ससैना रञ्जितकार र धनेश्वरी रञ्जितकारले साढे ३६ लाख रुपैयाँ ठगी गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए। भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज (भीएडी) नामक संस्था खोलेर त्यसैमार्फत भीएडी नेपाल लघुवित्त कार्यक्रम नामको सहकारी अनुमतिबिना चलाई लाखौं रुपैयाँ ठगी गरेको आरोप उनीमाथि छ।
रोमा र उनका श्रीमान् चिरञ्जीवी पोख्रेलमाथि २०७२ साउन २९ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो। सोही मुद्दामा अदालतले २०७३ पुस २६ गते चिरञ्जीवीलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय र साढे ३६ लाख विगो जरिवानाको फैसला सुनाएको थियो भने रोमा भने अदालतको म्याद तामेल नगरी बसेकी थिइन्। अदालतमा बयानका लागि उपस्थित नभइ उनी फरार भएकी थिइन्। काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार पुस २६ गते न्यायाधीश कृष्ण कोइरालाको ईजलासले रोमा प्रतिवादी भएको ठगी मुद्दामा आंशिक दाबी पुग्ने गरी फैसला गरिसकेको छ।
को हुन् रोमा ?
देश विदेशका विभिन्न स्टेज कार्यक्रम र केही म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी रोमा चर्चा बटुलेकी कलाकार हुन्। २०७२ सालमा उनले नेपाल सरकारबाट युवा प्रतिभा तथा युवा उद्यमी अवार्ड समेत पाएकी थिइन्।
८ वर्षको उमेरमा बस दुर्घटनामा देब्रे खुट्टा गुमाएकी उनी एक खुट्टाकै भरमा कुशल नृत्य प्रस्तुत गर्न सक्ने भएपछि चर्चाको केन्द्रमा आएकी थिइन्।