काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सी भन्दै कुटपिट गर्नेलाई छाडेको भन्दै ईलाका प्रहरी कार्यालय सुखडका निमित्त प्रमुख दिनेश विष्ट निलम्बनमा परेका छन् ।
७ नम्बर प्रदेश प्रहरी कार्यालयले सई विष्टलाई निलम्बन गर्न सिफारिस गरेको हो । उनलाई कारवाही गरी हेडक्वार्टरलाई जानकारी गराइएको प्रदेश प्रहरी प्रमुख एआइजी माधवप्रसाद नेपालले बताए ।
आफूलाई बाबा बताउने रामबहादुर चौधरीले झारफुकका नाममा २० वर्षीया राधा चौधरीलाई कुटपिट गरेका थिए । सुखड प्रहरीले चौधरीलाई पक्राउ गरेपनि स्थानीय जनप्रतिनिधिको रोहबरमा छाडेको थियो । तर, अहिले चौधरी फेरि पक्राउ परेका छन्।
कुटपिटबाट घाइते भएकी चौधरीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । कुटपिटको घटना सामसुम पार्न खोजिएपनि कुटपिटको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय चर्चाको विषय बनेको छ । कुटपिटबारे केन्द्र र प्रदेश सरकारले सक्रियता देखाएका छन् ।