काठमाडौँः मधेस केन्द्रित राष्ट्रिय जनता पार्टी नेपालले आफूहरु पनि सरकारमा जान तयार रहेको बताएको छ । राजपाको अध्यक्षमण्डलका सदस्य तथा सांसद महेन्द्र राय यादवले आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधामन्त्री केपी ओलीप्रति आफूहरुको पूर्ण विश्वास रहेको पनि बताए ।
तर उनले सरकारले संविधान संशोधनको प्रतिवद्धता भने पुरा गर्नुपर्ने बताए । ‘हामी लिखित सम्झौताको पक्षमा छैनौँ, सरकारले प्रतिवद्धता जनाओस’, उनले भने, ‘२ नम्बर प्रदेश सरकारलाई एमाले–माओवादीले समर्थन गरेको छ । त्यसले विश्वासको जग बलियो भएको छ । यहाँ सरकारले समर्थन चाहेको हो भने हाम्रा माग पुरा हुनुपर्छ ।’
नेता यादवले ओली सरकारसँग हातेमालो गर्न तयार रहेको पनि सन्देश दिए । ‘हातेमालो गर्न तयार छौँ, हामीलाई लाने कि नलाने ?’, उनले भने, ‘तर संविधान संशोधनसहितका राजनीतिक मुद्दा हल नगरी कसरी अघि बढ्न सकिन्छ ?’
यादवले प्रधामन्त्री ओलीप्रति र उनको बचनमा विश्वास रहेको पनि जिकिर गरे । ‘प्रधामन्त्रीको बचनमा विश्वास छ, प्रमले बोलेपछि पुरा गर्छन्, हामी विश्वस्त छौँ’, उनले भने, ‘अघि बढ्न सर्वदलीय बैठक बोलाऊँ, हामीले विश्वासको मत दिन तयार छौँ, नेपाल र नेपाली एक भएका छन् ।’
सांसद यादवले आफ्नो पार्टीका सांसद रेशम चौधरीलाई संसदमा उपस्थित गराउन सकेको भए ओली सरकारलाई समर्थन दिने वातावरण बनिसक्ने जिकिर गरे । ‘रेशम चौधरी संसदमा भएको हामीलाई आँट आउँथ्यो सरकारलाई समर्थन गर्न’, उनले भने, ‘तर सरकारले त्यसो गर्न सकेन, सरकारले प्रतिवद्धता पुरा गरेलगत्तै हामी सरकारमा जान र समर्थन गर्न तयार छौँ ।’ (अन्नपुर्ण पोस्टबाट)