माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब जनताले भाषण मात्रै नभइ सिधै परिणाम निस्कने खालको एक्सन खोजेको बताए । उनले सोही अनुसार काम गर्न पनि सरकारसँग आग्रह गरे । प्रचण्डले कैलाली घटना र ८ वर्षीय बालिकामाथि भएको बलात्कारको घटनाबारे ‘यसो भयो भनेर सरकार बस्ने’ नभइ सिधै एक्सन लिन आग्रह गरे । उनले भने,‘बोक्सीको आरोपमा दिनदाहाडै कुटपीट गर्ने र रमिता हेर्नेमाथि कारवाही गरियोस्, ८ वर्षीय बालिका बलात्कार गर्नेमाथि कठोर कदम चालेर सबै बेथितिविरुद्ध के के गर्नुपर्छ तत्काल एक्सन चालियोस् ।’
प्रचण्डले दुईतिहाइ मत प्राप्त सरकार लुलो हात नभइ कसिलो हात गरेर वेतिथि र विकृतिको अन्त्यमा जुट्नुपर्ने बताए । उनले सरकारसँग सुशासन, समृद्धि र स्थायीत्वका लागि वाम घोषणा अनुसार एक्सन लिन प्रधानमन्त्री ओलीसँग आग्रह गरे ।
प्रचण्डले विगत १० वर्षमा भएका १० जना प्रधानमन्त्री मध्ये ८ जनाको प्रस्तावक बन्ने अवसर मिलेको बताए । उनले ठट्याैली प्रश्न गर्दै भने,‘भविष्यमा कतिवटा प्रधानमत्री बनाएपछि गिनिजबुकमा नाम लेखाउन सकिन्छ होला ? कतिपयलाई संसदमा त कतिपयलाई सिधैँ प्रधामन्त्री बनउने अवसर मलाई मिल्यो ।’
ओली नेतृत्वको सरकार विकास र समृद्धिको कसम खाएपछिको पहिलो सरकार भएको पनि बताए ।प्रतिनिधिसभा संसद भए पनि परम्परागत संसद (२०४७ साल अघिको संसद) जस्तो नभएको दाबी गरे । (नयाँ पत्रिका)