धुर्मुस-सुन्तली हेर्न ओइरिए दर्शक



धादिङबेसी : धुर्मुस-सुन्तलीको प्रहसन हेर्न जिल्ला सदरमुकाम धादिङबेंसीमा दर्शक ओइरिए । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा हजारौंको संख्यामा गृहिणी र बालबालिका धुर्मुस-सुन्तलीलाई प्रत्यक्ष हेर्न महोत्सवस्थल आएका थिए ।

फागुन १६ देखि साना तथा मझौला व्यवसायी महासंघ धादिङले आयोजना गरिरहेको महोत्सवमा धुर्मुस-सुन्तलीको प्रहसन हेर्न १५ हजारभन्दा बढीले महोत्सवको टिकट काटेको आयोजकले जानकारी दिएको छ । हास्य टेलिशृंखला मेरी बास्सैबाट चर्चामा आएका धुर्मुस अर्थात् सीताराम कट्टेल र सुन्तली अर्थात् कुञ्जना घिमिरे विनाशकारी भूकम्पपछि देशका विभिन्न भागमा नमुना बस्ती बनाएका कारण थप चर्चामा छन् ।

नमुना बस्ती निर्माण गरेर देशभरि प्रशंसा कमाएका धुर्मुस-सुन्तलीको प्रहसन प्रत्यक्ष हेर्दा कस्तो हुन्छ भनेर डेढ घन्टा पैदल हिँडेर महोत्सवस्थल आएको नीलकण्ठ-९ की जुनीमाया गुरुङले बताइन् । धुर्मुस-सुन्तलीको जोडीले नारी दिवस पनि भएकाले प्रहसनमार्फत महिला र पुरुष बराबर भएको सन्देश दिएका थिए । महिला र पुरुषले दुवै मिलेर घर र घरबाहिरको काम गरे कहिल्यै झगडा नहुने र परिवार, समाज, जिल्ला, प्रदेश हुँदै देश नै शान्तिको बाटोमा अघि बढ्ने सन्देश दिएका थिए ।

घरको काम महिलाले गर्ने र घरबाहिरको काम पुरुषले गर्ने भनेर संसारमा कहीँ पनि नलेखिएको बताउँदै एकआपसमा सल्लाह गरेर दुवै मिलेर हरेक काम गरे परिवार सुखी बन्ने सन्देश उनीहरूले प्रहसनमार्फत दिएका थिए । महिला र पुरुष मिलेर अघि बढेको खण्डमा देश समृद्धिको यात्रातर्फ अघि बढ्ने उनीहरूले बताए ।

महोत्सवमा गायक हिमाल सागर, लोकगायिकाहरू मञ्जु पौडेल, प्रीति आले लगायतले प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्