क्युबामा हुँदै छ क्यास्ट्रो युगको अन्त्य



क्युबाको नयाँ राष्ट्रिय संसद्का लागि आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । निर्वाचनपछि गठन हुने संसद्ले ६० वर्षदेखि सत्ताको नेतृत्व गरिरहेको क्यास्ट्रो परिवारको अन्त्य गर्नेछ । निर्वाचनपछि बन्ने नयाँ राष्ट्रिय संसद्ले क्यास्ट्रो परिवारभन्दा बाहिरका व्यक्तिलाई नयाँ राष्ट्रपति चयन गर्नेछ ।

आइतबारको निर्वाचन सन् २०१६ मा क्युबाली नेता फिडेल क्यास्ट्रोको मृत्युपछिको पहिलो आमनिर्वाचन भएकाले यसलाई वंश राजनीतिमा आउने परिवर्तनका रूपमा लिइएको छ । वर्तमान राष्ट्रपति राउल क्यास्ट्रो आगामी महिना राष्ट्रपति पदबाट बाहिरिँदै छन्।

८६ वर्षीय राउलले सन् २००६ मा आफ्ना दाजु फिडेलमार्फत राष्ट्रपति पदको जिम्मेवारी लिएका थिए । फिडेलले सन् १९५९ को विद्रोहदेखि देशको शासन सत्ताको नेतृत्व गरेका थिए ।

निर्वाचनबाट झन्डै ८० लाख क्युबाली जनताले नयाँ संसद्को चयन गर्नेछन् । चुनावी मैदानमा उत्रिएका उम्मेदवार क्युबाली कम्युनिस्ट पार्टीको सदस्य बन्नुपर्ने प्रावधान छ । चुनावी मैदानमा उत्रिएका उम्मेदवारमध्ये झन्डै आधा अर्थात् ३२२ महिला उम्मेदवार छन् ।

गत वर्ष निर्वाचन घोषणा गर्दा राष्ट्रपति राउलले क्षमता र राष्ट्र निर्माणमा प्रतिबद्ध उम्मेदवार छान्न सबै नागरिकलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्