उत्तरको ठोस पहलपछि मात्र ट्रम्प र किमबीच भेट



प्योङयाङले पहिला ठोस कदम नचालेसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ता नहुने ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति ट्रम्पकी प्रवक्ता सेराह स्यान्डर्सले सो धारणा राखेकी हुन् । आफ्नो प्रशासनका विज्ञहरूसँग छलफल नै नगरी किमसँग भेट्न तयार भएको भन्दै ट्रम्पको आलोचना भइरहेका वेला प्रवक्ता सेराहले सो विचार व्यक्त गरेकी हुन् ।

राष्ट्रपति ट्रम्पले किमलाई अनावश्यक महत्व दिएकोबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा राष्ट्रपतिका प्रवक्ता सेराह स्यान्डर्सले उत्तर कोरियाले विश्वकै भलाइ हुने ठोस कदम चालेपछि मात्र ट्रम्पले किमलाई भेट्ने बताइन् । तर, सो ठोस कदमबारे उनले विस्तृत खुलाउन चाहिनन् । उत्तर कोरियाले आफूलाई निशस्त्र बनाउनुपर्ने उनले बताइन् । बिहीबार दक्षिण कोरियाली दूतले दुई नेताबीचको वार्ता आउँदो मेमा हुने बताएका थिए । प्रवक्ता स्यान्डर्सले वार्ताको मिति यकिन नभएको बताइन् ।

मिति र समय तोक्न बाँकी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको सम्झौता पक्रियामा रहेको बताएका छन् । उत्तर कोरियाली नेता किम जोङ उनले भेटवार्ताका लागि गरेको प्रस्तावलाई स्वीकार गरेको भोलिपल्ट ट्रम्पले सो धारणा व्यक्त गरेका हुन् । ट्रम्पको टिप्पणीप्रति उत्तर कोरियाले कुनै प्रतिक्रिया जनाएको छैन । ‘उत्तर कोरियासँग सम्झौता बन्ने पक्रियामा छ र यो छिट्टै सम्पन्न हुनेछ, जुन संसारका लागि निकै राम्रो हुनेछ । शिखर वार्ताको मिति र समय तोक्न बाँकी नै छ,’ ट्रम्पले ट्विट गरेका छन् ।

ट्रम्पको निर्णयले धेरै चकित
दक्षिण कोरियाली विशेष दूतले बुझाएको उत्तर कोरियाली नेताको निम्तो स्विकारेर ट्रम्पले सबैलाई चकित पारेका छन् । केहीले उनको आलोचना गरेका छन् । कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले अहिलेसम्म उत्तर कोरियाली नेतालाई भेटेको इतिहास छैन । उनको निर्णयले ट्रम्पका कर्मचारी र सल्लाहकार समस्यामा परेका छन् । उच्चस्तरको बैठक कसरी आयोजना गर्ने भनेर उनीहरूमा अन्योल छाएको छ । ट्रम्पकी प्रवक्ता सेराह स्यान्डर्सले उत्तर कोरियाले निशस्त्रीकरणका लागि प्रतिबद्धता नगरेको भन्ने टिप्पणीले चौतर्फी द्विविधा बढेको छ ।

अनिश्चितता यथावत्
प्योङयाङमा यसै साता उत्तर कोरियाली नेतालाई भेट गरेका दक्षिण कोरियाली राष्ट्रपतिका विशेष दूतहरूले उत्तर कोरिया निशस्त्रीकरणप्रति प्रतिबद्ध रहेको जनाएका छन् । तर, अमेरिकी राष्ट्रपतिसँगको भेट हुनुअघि नै निशस्त्रीकरण पक्रिया सुरु हुन्छ भन्नेमा उनीहरूले विश्वास दिलाउन सकेका छैनन् । वार्ता सुरु भए मात्र आफ्ना आणविक कार्यक्रम रोक्न उत्तर कोरियाले सहमति जनाएको हुन सक्ने केहीले अनुमान गरेका छन् ।

उत्तरमाथिको रबैया यथावत्
अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियामाथि दबाब दिइरहने प्रतिबद्धता जनाएका छन् । त्यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरमाथिको प्रतिबन्ध कायमै रहने संकेत गरेका छन् । शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बोल्दै ट्रम्पले तत्काल उत्तरमाथि लागेको प्रतिबन्ध नहट्ने संकेत गरे ।

ट्रम्प र किमको भेटबारे उत्तर कोरियाली सञ्चारमाध्यमहरूले केही उल्लेख गरेका छैनन् । अमेरिका भ्रमणमा रहेको दक्षिण कोरियाली प्रतिनिधिमण्डलले मेसम्ममा बैठक हुने जनाएका छन् । तर, बैठकको समय र स्थान तोकिएको छैन । उत्तर र दक्षिण कोरियाको सीमा गाउँ, बेइजिङ वार्ताका लागि सम्भाव्य स्थान हुन सक्छन् ।

ट्रम्पले एक्लै निर्णय लिए
ट्रम्पले उत्तर कोरियाली नेता किमलाई भेट्दा अमेरिकी कूटनीतिज्ञ तथा विदेशमन्त्री रेक्स टिलर्सन अफ्रिका भ्रमणमा थिए । ट्रम्पको निर्णयले आफू अचम्मित भएको टिलर्सनले बताएका छन् । ‘किमसँग भेट्ने निर्णय ट्रम्प एक्लैले लिएका हुन्,’ टिलर्सनले भने, ‘उनले लिएको निर्णयबारे मैले ट्रम्पसँग छलफल गरेँ ।’ प्योङयाङलाई बढ्दो दबाब दिने वासिङ्टनको रणनीतिले काम गरिरहेकोसमेत उनले दाबी गरे । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्