उपत्यका बाहिरका सिनेमा हलमा कान्छीको रौनक अझै बाँकि छ : नायिका श्वेता खड्का



देशको राजधानीसमेत पर्ने ३ नम्बर प्रदेशको अस्थायी राजधानी तोकिएसँगै हेटौंडामा कला क्षेत्रसँग सम्बन्धित कार्यक्रमको चहलपहल बढेको छ । यस्तै चहलपहलमा फिल्मका गतिविधिले प्रशस्त स्थान पाउन थालेका छन् । देशको मध्यभागमा पर्ने भएकाले पनि फिल्मकर्मी हेटौंडामा फिल्मका गतिविधि छुटाउन चाहँदैनन् ।

नेपाली फिल्मको राम्रो दर्शक भएकाले र यहाँका राम्रो समूह यस क्षेत्रसँग जोडिएका कारण फिल्मका गतिविधिमा बढोत्तरी स्वभाविक मानिएको छ । ३ साताअघि रिलिजमा आएको फिल्म कान्छीकी नायिका श्वेता खड्काले हेटौंडाका दर्शकसँग खुसी साटासाट गरिन्। उनले ओम्याक्स सिनेमा घरका दर्शकसँग बसेर केहीबेर आफ्नो फिल्म हेरिन् । फिल्म हेरिरहेका दर्शकमाझ सिनेमा हल पुगेकी श्वेतालाई देखेर दर्शक पनि खुसी भए । उनीहरू श्वेतासँग सेल्फीमा रमाए। श्वेताले हेटौंडाका दर्शकलाई फिल्प्रति माया दर्शाएकोमा धन्यवाद दिइन् ।


दर्शकलाई आगामी दिनमा पनि राम्रो चलचित्र पस्कने आश्वासन दिँदै उनले यस क्षेत्रमै आफ्नो निरन्तरता रहने बताइन् । यसै सरेफोरोमा दुई चलचित्रको टोली पनि हेटौंडा आइपुग्यो । मोफसल यात्रामा प्रचारका लागि निस्केका यी दुई टोली फिल्म नाका र मंगलम् थिए। दुई फिल्मको देश दौडाहा जम्काभेट हेटौंडामा भयो । नाकालाई एक्लै बोकेका अभिनेता विपीन कार्कीले आफूले अभिनय गरेका अन्य फिल्मभन्दा यो फिल्म फरक धारमा बनेको बताए ।

हुर्रे फिल्मको प्रचारका लागि देश दौडाहामा रहेको टोलीले पनि हेटौंडामा पत्रकार सम्मेलन गर्दै फिल्म पूर्णरूपमा कमेडी कथामा रहेको दाबी गरेको छ । कला क्षेत्रकै अर्को पाटोमा नेपाल डायरिज प्रालिको आयोजनामा मिस सेन्ट्रल नेपालको पहिलो संस्करण चैत ५ गते हेटौंडामा नै हुने भएको छ ।

मध्यमाञ्चलस्तरीय उक्त प्रतियोगितामा २२ जना सहभागी रहने आयोजकले जनाएका छन्। यसमा काठमाडौं, हेटौंडा र चितवनका प्रतियोगी सहभागी हुनेछन् । सहभागीलाई प्रशिक्षण कक्षा चलिरहेको कार्यक्रम संयोजक सोफिया फागोले बताइन् । प्रतियोगितामा विजेताले सुनको ताज, स्कुटर र स्वदेश भ्रमण प्याकेज, दोस्रो र तेस्रो हुनेलाई चाँदीको ताज र स्वदेश भ्रमण प्याकेज पुरस्कार रहेको संयोजक फागोले दाबी गरिन् ।

प्रतिक्रिया दिनुहोस्