‘अब बराह क्षेत्र आकर्षक समर सिटी हुनेछ’



काठमाडौँ — सुनसरीको बराहक्षेत्र नगरपालिका प्रमुख निलम खनाल कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर अघि बढिरहेका छन् । २ हजार २ सय २ वर्गकिमि क्षेत्रफलमा फैलिएको यो नगर धार्मिक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ । चार पवित्र तीर्थमध्येको एक बराह क्षेत्रधाम यहीं पर्छ ।

धार्मिक पर्यटन र जलस्रोतको अपार सम्भाव्यता भएको यो क्षेत्र साहसिक र मनोरञ्जनात्मक खेल प्रवद्र्धनका दृष्टिले पनि प्रचुर छ । बराह क्षेत्रलगायत कुम्भनगरी प्राचीन हरिद्वार, औलिया मठ, रामधुनी, छिन्नमस्तालगायत धार्मिक तीर्थ, सुनसरी मोरङ सिँचाइ योजना, चतरा हाइड्रोपावर, पूर्वपश्चिम वैकल्पिक लोकमार्गका कारण पनि चर्चित छ । कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर अघि बढिरहेका मेयर खनालसँग कान्तिपुर सम्बाददाता प्रदीप मेन्याङ्बोले गरेको कुराकानी :

बराहक्षेत्र नगरपालिका विकासका लागि के योजना छ ?
यो गाउँ नै गाउँले भरिएको नगर हो । यहाँको मुख्य जनचाहना विकास निर्माण नै हो । चुनौती र सम्भावना दुवै छन् । हामी यसलाई ‘समर सिटी’ का रूपमा अघि बढाउन चाहन्छौं । नगरको सबैभन्दा विकट वडा नम्बर १ सूर्यकुण्ड, चावाचा, अर्चलेजस्ता स्थानमा जनताले विकासको मुहार हेर्न चाहेका छन् । कोसीको किनारमा भए पनि विशेषगरी खानेपानीको समस्या छ । स्थानीयले उत्पादन गरेका अदुवा, हर्दी, केराले मूल्य पाएका छैनन् । अब पहिले खानेपानीको समस्या समाधान गर्नुपर्छ, मोटरबाटो पुर्‍याउनुपर्छ ।

जनप्रतिनिधिहरूको प्राथमिकतामा भौतिक पूर्वाधारमात्र परेका हुन् ?
यहाँको प्रमुख पेसा नै कृषि हो । सुनसरी जिल्ला प्रधानमन्त्री आधुनिक कृषि कार्यक्रममा समावेश छैन । बजेट छुट्याएनन् । तर, हामीले यसमा बजेट छुट्यायौं । पकेट क्षेत्र निर्धारण गरेर विस्तार गर्ने कुरा उठाएका छौं । हाम्रो प्रचुर सम्भावना पर्यटन र धार्मिक पर्यटन हो । हामी अध्ययन अनुगमनमा गएका छौं । सूर्यकुण्डमा धार्मिक पुरातात्त्विक विकास गर्ने क्षेत्रहरू छन् । त्यहाँ किरात–सेनकालीन राजाको दरबारको भग्नावशेष छ । पुराना तोपहरू छन् । त्यसको संरक्षण गर्नुपर्छ । त्यहाँ पर्यटकलाई आकर्षित गर्न सकिन्छ । त्यहाँको रमणीयता हामीले देखाउन सक्नुपर्छ । आन्तरिक पर्यटक पुग्दा मात्रै पनि त्यो ठाउँको उन्नति र प्रगति हुन्छ । हाम्रो ध्यान यहाँको धार्मिक पर्यटन, जलविहारको विकास गर्ने हो । हाम्रो छेउबाट पवित्र नदी बगिरहेको छ । तैपनि हामीले केही गर्न सकेका छैनौं ।

नगरपालिको आन्तरिक आय स्रोत वृद्धि गर्न योजना केके छन् ?
हाम्रो आन्तरिक स्रोत वृद्धि गर्ने स्पष्ट चित्र छ । धार्मिक पर्यटन, अन्य पर्यटन, जल सम्भाव्यताको विकास, कृषि क्षेत्रको सबलीकरण, पर्यापर्यटन नै हो । कोसी टप्पु वन्यजन्तु आरक्षको वैज्ञानिक विस्तार, खाली रहेका विशाल क्षेत्रफलमा कृषिको आधुनिकीकरण हो । सप्तकोसी नदीमा बोटको सञ्चालन गर्ने, नदी किनारमा रिसोर्ट, रेस्टुरा खोल्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने, समग्रमा कोसी नदीको जललाई हरेक तरहले ‘मनिटाइज’ गर्ने हो । आम्दानीको स्रोत बनाउने हो ।

लामो समयसम्म कर्मचारी संयन्त्रले चलेको कार्यालयको व्यवस्थापनमा केही सुधार भएको हो ?
राज्यको संयन्त्र डामाडोल छ । कर्मचारी आएका छैनन् । कार्यकारी अधिकृत यहाँबाट गएको महिना दिन भयो । नयाँ प्रमुख प्रशासकीय अधिकृत आइपुगेका छैनन् । वडैपिच्छे मैले सचिवहरू दिन सकेको छैन । वडा कार्यालय लथालिंग छन् । बिडम्वनाको कुरो एउटा सचिवले तीनवटा वडा चलाउनु भएको छ । बस्ने ठाउँ भवन पनि उपलब्ध गराउन सकेको छैन । यसैबाट चल्ने प्रयास गरिरहेका छांै ।

जनप्रतिनिधिहरू बढी उद्घाटन, शिलान्यास, औपचारिक कार्यक्रमहरूमा गए भन्ने आरोप छ नि ?
निकै कठिन हुँन्छ  । नजाँदा अर्को अर्थ लाग्ने । जाँदा कार्यालयको काम लठीभद्र । तर पनि जानैपर्ने बाध्यता । जनताको मत पाएर आएको मान्छे बोलाउँदा ठूलो हुने कुरा आएन । भरसक कार्यालयको कामलाई बाधा नपर्ने गरी गइरहेको छु । अझै यसलाई व्यवस्थित गर्नु जरुरी छ । टोलटोलमा जनप्रतिनिधि छन् उनीहरूलाई आयोजकले बोलाउँदा पनि न्याय नै हुन्छ जस्तो लाग्छ ।

बहुचर्चित कोसी उच्च बाँध पनि यही नगरमा पर्छ हैन ?
पहिले नेपाल र नेपाली जनता नठगिने आधार तयार हुनु आवश्यक छ । उच्च बाँध बन्नुपर्छ तर त्यसको क्षति कति हो भन्ने तथ्यांक हेर्नु आवश्यक छ । मेरो नगरका जनताको राय पनि लिन्छु । क्षतिको उचित व्यवस्था हुनुपर्छ । बाँध निर्माण हँुदा देश र जनतालाई फाइदा पुग्छ भने हामी विकासका बाधक हैनौं । तर नेपालको सुरक्षा, सार्वभौमसत्तामाथि आँच आउने कुरा हाम्रा लागि मान्य छैन ।

जागिरका लागि दबाब कस्तो छ ?
नगरमा ११ जना नगर प्रहरीको दरबन्दी छ । मैले अहिलेसम्म दरबन्दी खोल्न सकेको छैन । मेरो डायरीमा ५ सयको नाम छ । मैले ४ सय ८९ जनालाई ‘माइनस’ गर्नुपर्ने हुन्छ । शिक्षक लाइदे भन्ने, ठेकेदार राख्दे भन्नेको संख्या नसोध्दा हुन्छ । तर मेरो प्राथमिकतामा जागिर नपाउनेभन्दा स्कुल जान नपाउने बालबालिका छन् । मेरो प्राथमिता विकास निर्माण हो । जनताको जीवनस्तर उकास्नु हो । नगरको आय वृद्धि गर्नु हो ।

प्रतिक्रिया दिनुहोस्