शिव श्रेष्ठ नेपाली चलचित्रका पुराना स्थापित नायक हुन् । उनलाई एक्सन किङ पनि भन्ने गरिन्छ । चलचित्र ‘जीवनरेखा’बाट अभिनय यात्रा सुरु गरेका श्रेष्ठले थुप्रै चलचित्रमा काम गरेका छन् । उनले अभिनय गरेका अधिकांश चलचित्र राम्रै व्यापार गर्न सफल पनि भए । एकताका चलचित्र क्षेत्रमा एकछत्र राज गरेका श्रेष्ठका फ्यान पनि त्यत्तिकै छन् । कतिपय फ्यान उनले बिर्सिसके तर, कतिपय फ्यान यस्ता छन् जो उनको दिमागबाट हट्न सकेका छैनन् ।
तिनै फ्यानका बारेमा यहाँ चर्चा गरिएको छ :
रगतले लेखेका थुप्रै चिठी आए
चलचित्र क्षेत्रमा अभिनय गर्न थालेपछि म शिव श्रेष्ठ भनेर चिनिनँ थालेँ । त्यसवेला अहिलेको जस्तो फोन, सामाजिक सञ्जालको कुनै सुविधा थिएन । जसले गर्दा फ्यानहरूले चिठीमार्फत आफ्नो भावना व्यक्त गर्नुहुन्थ्यो । मलाई थुप्रै चिठी आउँथे । यही क्रममा रगतले लेखेका चिठी पनि आएका थिए । तपाईँ मेरो भगवान् हो, तपाईँजस्तो कलाकार जन्मेको छैन, म तपाईँलाई माया गर्छु, भेट्न चाहन्छु भनेर थुप्रै रगतले लेखेका चिठीपत्र आएका थिए ।
बिहे गर्न चाहन्छु भनेर चिठी लेख्ने रेजिना
बालाजुकी रेजिना नाम गरेकी युवतीले मसँग विवाह गर्न चाहन्छु भनेर चिठी पठाएकी थिइन् । उनलाई मेरो विवाह भएको छ भन्ने थाहा रहेनछ । अनि मैले उनको चिठी हेरेपछि मेरो विवाह भइसकेको छ भनेर चिठी फर्काएको थिएँ ।
भक्तपुरका महिलाले समातेर रोए
मैले अभिनय गरेको पहिलो चलचित्र ‘जीवनरेखा’ चलिरहेको समयमा म भक्तपुर गएको थिएँ । मेरो चलचित्र हेरेर थुपै्र मेरो फ्यान हुनुभएको रहेछ । यही क्रममा त्यहाँका केही महिला मलाई समातेर रुन थाल्नुभयो । सुरुवाती दिनहरू भएको हुँदा मलाई भने के गरेको होला भन्ने लाग्यो ।
विश्वज्योति हलमा युवतीहरूले किस गरे
मैले ‘ठुल्दाइ’ चलचित्रमा अभिनय गरिसकेपछि चलचित्रको प्रतिक्रिया लिनका लागि म विश्वज्योति हलमा गएको थिएँ । जुनवेला मैले अभिनय गरेका चलचित्रहरू हिट भइरहेका थिए । त्यहाँ पनि थुप्रै फ्यानलाई भेट्ने मौका पाएँ । जब म हलमा छिरेँ त्यहाँ भएका युवती मेरो हिरो भन्दै दौडँदै आएर गालामा किस खाए । मचाहिँ अकबक्क परेँ । किनभने त्यसवेला अहिलेको जस्तो अँगालो हाल्ने, किस गर्ने चलन थिएन ।
दमकका फ्यानले सर्ट च्यातिदिए
धेरै वर्षअघि जल शाह, निरुता सिंहलगायतका कलाकार दमकको हलमा गएका थियौँ । त्यहाँ हामी आउँछौँ भन्ने थाहा पाएपछि हजारौं दर्शक आउनुभएको रहेछ । जब हामी त्यहाँ पुग्यौँ । त्यसपछि त फ्यानले आएर छोप्नुभयो । हामी तितरबितर भयौँ । यतिसम्म कि फ्यानहरूले त मैले लगाएको सर्ट नै च्यातिदिएका थिए ।
बलिउड नायिकाले विवाह प्रस्ताव राख्नुभयो
मैले ‘हामी एक हौँ’ भन्ने चलचित्रमा अभिनय गरेँ । जुन चलचित्रमा हिन्दी चलचित्रकी नायिका सल्मा आगाले अभिनय गर्नुभएको थियो । उहाँ मेरो ठूलो फ्यान हुनुहुँदो रहेछ, म निकै मनपर्दो रहेछु । उहाँले मलाई विवाहको प्रस्ताव राख्नुभयो । मैले मेरो त विवाह भइसकेको छ भनेँ । त्यसपछि उहाँले विवाह गरेकाले पनि अर्को विवाह गरेका छन् नि भनेर उदाहरण नै दिनुभएको थियो । तर, मैेलेचाहिँ त्यो प्रस्तावलाई अस्वीकार गरेँ ।
कतारमा युवतीहरूले अँगालो हाले
आज भन्दा ११ वर्ष पहिला म कतारको एउटा कार्यक्रममा गएको थिएँ । त्यहाँ थुप्रै डाइहार्ड फ्यानलाई भेट्ने मौका पाएँ । यही क्रममा म स्टेजमा उक्लिएपछि युवतीहरू आएर अँगालो हाल्न थाल्नुभयो । बिस्तारै स्टेजमा फ्यानहरूको भिड लाग्न थालेपछि प्रहरीले लाठीचार्ज गर्न थाल्यो । तर, मैले लाठीचार्ज गर्न दिइनँ ।
हरेक दिन बेलुका फोन गर्ने महिला
काठामाडौंकै एकजना महिला मेरो एकदमै ठूलो फ्यान हुनुहुँदो रहेछ । धेरै वर्ष पहिला उहाँले मेरो नम्बर पत्ता लगाएर बेलुकाबेलुका दिनहुँजसो फोन गर्नुहुन्थ्यो । भेट्ने ठूलो इच्छा राख्नुभएको थियो । फोन गरेर उहाँले मलाई खाना खानका लागि पनि बोलाउनुभएको थियो । तर, म त्यसवेला निकै व्यस्त थिएँ । यही क्रममा म पाकिस्तानमा गएँ । जसले गर्दा उहाँसँग मेरो भेट हुन पाएन ।
पाकिस्तानी फ्यानहरूले शिवा भन्थे
म पाकिस्तानी चलचित्रमा अभिनय गर्नका लागि गएँ । त्यहाँको चलचित्रमा अभिनय गरिसकेपछि त्यहाँ पनि मेरो थुप्रै फ्यान बन्नुभयो । मैले त्यहाँ थुप्रै डाइहार्ड फ्यान पाएँ । एकताका पाकिस्तानी चलचित्रमा एकछत्र राज गर्दा त्यहाँका फ्यानले मलाई शिवा भनेर बोलाउँथे । त्यहाँका मानिसले खुब मान्थे ।
श्रीमतीकै अगाडि युवतीले गालामा किस गरिन्
केही वर्ष पहिला श्रीमतीलाई लिएर म सोल्टी होटेलमा गएको थिएँ । त्यहाँ एकजना युवतीले मलाई देख्नेबित्तिकै ‘ओहो दाइ म त तपाईँको ग्रेट फ्यान हुँ’ भन्दै दौडँदै आउनुभयो र मलाई च्याप्प समातेर गालामा किस गर्नुभयो । श्रीमतीकै अगाडि युवतीले त्यस्तो गरेको देख्दा मलाई अलि अप्ठ्यारो लाग्यो । पछि त श्रीमतीले पनि ‘कान्छी श्रीमती हो कि क्याहो’ भनेर सोधिन् । मैले उनलाई सम्झाएँ ।
राजा वीरेन्द्र मेरो फ्यान हुनुहुन्थ्यो
म पाकिस्तानी चलचित्रमा काम गर्दै थिएँ । त्यही क्रममा वीरेन्द्र सरकार इस्लामावाद जानुभएको थियो । त्यहाँ मैले उहाँलाई भेट्ने मौका पाएँ । उहाँले ‘के तिमी अब नेपाल छाडेर पाकिस्तानमै बस्ने हो’ भन्नुभयो । मैले ‘होइन नेपाल फर्कन्छु सरकार’ भनेपछि उहाँले ‘स्याबास’ भन्नुभयो ।
उहाँले मलाई असाध्यै माया गर्नुहुन्थ्यो । मेरो चलचित्र हेर्नुहुन्थ्यो । चलचित्र हेरेपछि मलाई बोलाएर स्याबासी दिनुहुन्थ्यो । साथै, सल्लाहसुझाब पनि दिनुहुन्थ्यो । (नयापत्रिका बाट)