जिल्ला सहकारी संघको स्वर्ण महोत्सव हुने



धुलिखेल, ३० फागुन

जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोकले आगामी चैत २९ गते स्वर्ण महोत्सव मनाउने भएको छ ।

आज काभ्रेपलाञ्चोकको बनेपामा पत्रकार सम्मेलन गरी जिल्ला सहकारी संघ स्थापनाको ५०औं वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव गर्न लागिएको जनाइएको छ ।

‘समृद्ध काभ्रे हाम्रो पहिचान, घरघरमा सहकारी सदस्यता अभियान’ नाराकासाथ महोत्सव मनाउन लागिएको हो । संघले २५१ सदस्यीय सहकारी स्वर्ण महोत्सव मूलसमारोह समिति गठन गरिसकेको छ ।

“हामीले मूलसमारोह समिति गठन गर्नुका साथै ३१ सदस्यीय व्यवस्थापन समिति र सम्मान तथा पुरस्कार छनोट समिति, प्रदर्शनी व्यवस्थापन समिति, प्रचारप्रसार समिति, आर्थिक व्यवस्थापन समिति, गोष्ठी व्यवस्थापन, र्याली व्यवस्थापन, अतिरिक्त क्रियाकलाप सञ्चालन एवं मूल्यांकन तथा प्रतिवेदन तयारी समिति लगायतका समिति गठन गरिसकेका छौं,” संघका अध्यक्ष विनोद पराजुलीले भन्नुभयो ।

जिल्लाका उत्कृष्ट काम गर्ने सहकारी तथा जिल्लाबाट विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने विशिष्ट व्यक्तित्वलाई समेत सम्मान गर्ने सघंले तयारी गरेको जनाएको छ । सोही अवसरमा जिल्ला सहकारी संघको भवन शिलान्यास गर्ने तयारी भइरहेको मूलसमारोह समितिका संयोजक पराजुलीले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले संघले महोत्सवको नाममा महोत्सव मात्रै गर्ने नभइकन जिल्लामा कतिवटा सहकारी संस्था खुलेको छ, ती सबै सहकारीबाट दैनिक वा मासिक कति रकम बचत हुन्छ र त्यसबाट अर्थतन्त्रमा कतिको टेवा पुर्याइरहेको छ, भन्ने कुरालाई पनि खाकासहित तयार गरेर प्रस्तुत गर्न आवश्यवक रहेको बताउनुभयो । तिमल्सिनाले जिल्लामा सहकारीमार्फत गर्न सकिने सम्भावित आत्मनिर्भरताको विषयलाई पनि उठान गर्नुपर्ने बताउनुभयो ।

जिल्ला सहकारी संघमा हालसम्ममा एक हजार ४९५ वटा सहकारी संस्था आवद्ध रहनुका साथै बचत तथा ऋण, दुग्ध, तरकारी, बहुउद्देश्यीय, कृषि, उपभोक्ता तथा कफी सहकारी गरी सातवटा विषयगत सहकारी संस्था आवद्ध छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्