लैङ्गिक समानताका लागि व्यावसायिक मामिला



न्यूयोर्क, ३० फागुन

विश्वभर लैङ्गिक पूर्वाग्रहले नयाँ सिराबाट ध्यान आकर्षित गरिरहेको छ । विरोध र्याली र सामाजिक मिडियाको व्यापकताको माध्यमबाट हरेक स्थानमा महिलाले सबै यौन उत्पीडन, दुव्र्यवहार र असमानताको अन्त्यको माग गरिरहेका छन् ।

तर सार्वजनिक जागरुकता बढाउनका लागि चालिएका यस्ता अभियानको सफलतासँगै समानताका लागि सङ्घर्ष अझैँ धेरै टाढा छ । संयुक्त राष्ट्र सङ्घको दीगो विकास लक्ष्यको हासिल गर्नुपर्ने सबै १७ बुँदामा महिला र किशोरीको सशक्तिकरण महत्वपूर्ण छ । यद्यपि अहिले लैङ्गिक पूर्वाग्रह वैश्विक प्रगतिका लागि एउटा महत्वपूर्ण अवरोध हो र यो कार्यस्थलमा विशेषरूपमा तीव्र छ ।

एउटा गैर मुनाफामुलक सीइओ संस्था क्याटालिस्टका अनुसार अहिले स्टान्डर्ड् एन्ड पुअर्स् (एस एन्ड पी) ५०० कम्पनीमा मात्र पाँच प्रतिशत महिलाले नेतृत्व गरेका छन् । अन्तरराष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले गरेको सर्वेक्षणअनुसार ७३ प्रतिशत वैश्विक कम्पनीमा समान अवसरका नीति रहेको कसैले मानिरहेको अवस्थामा क्याटालिस्टको निराशाजनक आँकडा सबैभन्दा उल्लेखनीय छ । यसका अतिरिक्त अनुसन्धानले कम्पनीको लैङ्गिक समानता र उसको वित्तीय स्वास्थ्यको बारेमा स्पष्टरूपमा के देखाएको छ भने विश्वका सबैभन्दा ठूला कम्पनीहरूको सञ्चालक बोर्डमा महिलाहरूले २० प्रतिशतभन्दा कम स्थान ओगटेका छन् ।

यस्ता कमजोरीलाई सम्बोधन गर्नु नैतिक तथा आर्थिक दुवै आवश्यकता हो । म्याककिन्से ग्लोबल इन्स्टिच्यूटको सन् २०१५ को प्रतिवेदनले के उल्लेख गरेको छ भने यदि महिला र पुरुषले श्रम बजारमा समान भूमिका निर्वाह गर्ने हो भने सन् २०२५ सम्ममा विश्व अर्थतन्त्रमा २८ हजार अर्ब डलर थपिनेछ । यी वैश्विक लाभ व्यक्तिगत कम्पनीहरूका लागि अतिरिक्त लाभ हुनेछ । विशाल लैङ्गिक समानतासहितका कम्पनी अधिक नवीन, उदार र लाभदायक हुन् । तर महिला सशक्तिकरणको वर्तमान दरमा लैङ्गिक अन्तरलाई समाप्त गर्नका लागि करिब २२० वर्ष लाग्नसक्छ । विश्वले त्यो लामो समयसम्म प्रतिक्षा गर्नसक्तैन । हामीलाई एउटा नयाँ दृष्टिकोण आवश्यक छ ।

महिला कामदारलाई काममा लगाउन र उनीहरूलाई प्रोत्साहन गर्न चिलीको सान्टियागोमा यसै साता आयोजना हुने फोर्थ ग्लोबल फोरम अन बिजिनेस फर जेन्डर इक्वालिटीमा चार सयभन्दा बढी व्यावसायिक नेता र सरकारी प्रतिनिधिसहित हामी सहभागी हुँदैछौँ । चिली सरकार र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त आयोजना तथा अन्तरराष्ट्रिय श्रम सङ्गठन (आईएलओ) र यूएन वुमेनको साझेदारीमा हुने सो भेलाले निजी क्षेत्रमा लैङ्गिक समानताको महत्वबारे प्रकाश पार्नेछ ।

एउटा समाधान यूएनडीपीको सहयोगमा सञ्चालित जेन्डर इक्वालिटी सील कार्यक्रम पनि सम्मेलनको एजेन्डामा हुनेछ । जेन्डर इक्वालिटी सील एउटा त्यस्तो अनौठो पहल हो जसले महिला र पुरुषबीचको तलब अन्तरलाई समाप्त गर्ने, निर्णय प्रक्रियामा महिलाको सङ्ख्यालाई बढाउने र कार्यस्थलमा यौन दुव्र्यवहार अन्त्य गर्न काम गर्ने कम्पनीलाई प्रमाणित गर्दछ ।

अहिले यूएनडीपीले प्रमाणित गरेका यस्ता कम्पनी अधिक सन्तुलित वैश्विक श्रमशक्तिको निर्माणमा अग्रणी छन् । उदाहरणका लागि चिलीको सरकारी तामाखानी कम्पनी कोडेल्कोले महिला कर्मचारीको र्याङ्क बढाइरहेको छ र प्रक्रियामा उत्पादकत्व बढाइरहेको छ । त्यस्तै कोस्टारिकाको बान्को नेसनलले दर्जनौँ महिलालाई व्यवस्थापकीय भूमिकामा पदोन्नति गरेको छ ।

सो बैङ्क अहिले महिला उद्यमीहरूको लागि वित्तीय लगानी गर्ने अग्रणी क्षेत्रीय प्रदायक पनि हो । त्यस्तै क्यानडामा स्कोटिया बैङ्कले उद्योगको सबैभन्दा राम्रो लैङ्गिक सन्तुलित कम्पनीमध्ये एक बन्न महिला संरक्षण कार्यक्रमको प्रयोग गरेको छ । यो साता थुप्रै कम्पनीले आफ्नो आशय सङ्केत गरेर लैङ्गिक समानताको प्रमाणका लागि प्रयास गर्नेछन् भन्ने हाम्रो अपेक्षा हो ।

छलफलका लागि अर्को पहल भनेको महिला सशक्तिकरणको सिद्धान्त पनि हो । यो सिद्धान्त यूएन वुमेन र यूएन ग्लोबल कम्प्याक्टले विकास गरेको एउटा अपरेटिङ सेट हो जुन लैङ्गिक समानताको व्यवसायको मामिलामा एउटा प्रतीक पनि हो । एक हजार सातसयभन्दा बढी प्रमुख कार्यकारीहरूले यो सिद्धान्तलाई अनुमोदन गरेका छन् भने ६१ मुलुकका करिब तीन सय कम्पनीले कार्यस्थलमा व्यवस्थापकलाई सो सिद्धान्त लागु गर्न सहयोग पुर्याउन सिद्धान्तको स्वतन्त्र लैङ्गिक अन्तर विश्लेषण संयन्त्रको प्रयोग गरेका छन् ।

सुनिश्चित गर्नका लागि विश्वव्यापी बैठकहरू, प्रमाणिकरण प्रणाली र निःशुल्क सफ्टवेयर समाधानका हिस्सामात्र हुन् । महिलाहरू अहिले पनि असामान्य घरेलु बोझमा छन् । सामाजिक र साँस्कृतिक मूल्यले ग्रस्त दबावका कारण उनीहरू स्कुल जान, व्यवसाय सुरु गर्न र सार्वजनिक जीवनमा हिस्सा लिन बिरलै पाउँछन् । यसका अतिरिक्त घरभन्दा बाहिर नोकरी प्राप्त गर्ने महिला लैङ्गिक ज्याला अन्तरको गलत दिशामा छन् जुन औसत २३ प्रतिशत छ । यसले समानता अवसरको मात्र विषय होइन भन्ने देखाउँछ ।

व्यवसाय, समुदाय र परिवारहरूले यो क्षेत्रलाई समान बनाउन सगैँ मिलेर काम गर्नुपर्छ । सौभाग्यवश कुनै पनि व्यवसायमा केही पनि गर्ने लागत अत्यन्त धेरै छैन । साथै अर्थतन्त्र सम्पूर्णरूपमा सहनसक्ने अवस्थामा छ । यही कारणले काममा लैङ्गिक पूर्वाग्रहलाई निमिट्यान्न पार्न सम्भव छ भन्ने दिशामा हामी आशावादी छौँ । जब कम्पनीले उनीहरूको व्यावसायिक रणनीतिमा महिला सशक्तिकरणलाई केन्द्रमा राख्छन्, महिला र पुरुष कसैलाई पनि पछाडि नपारी विकास र समानतालाई पारस्परिकरूपमा बलियो बनाउन सकिन्छ ।

(अकिम स्टाइनर संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमका प्रशासक हुनुहुन्छ भने फुम्जिल मेलाम्बो–एनजीक्युका यूएन वुमेनका कार्यकारी निर्देशक हुनुहुन्छ ।) अनुवादः दिलीप अधिकारी

प्रतिक्रिया दिनुहोस्