‘सुनकाउली टिपेर दैनिक हजार कमाउँछन् बाल बालिका’



पाल्पा – तिनाउँ गाउँपालिका–४, सत्यवति क्षेत्र तेजपातको हव ‘तेजपात राजधानी’ का रुपमा परिचित छ। यस क्षेत्रको सार्वजनिक जंगलहरु तथा निजी खाली जग्गामा जताततै तेजपात रोपिएका छन्। यहाँका बाल बालिकाहरु फुर्सदको समय जंगल पस्छन्। बोरा वा डोको बोकेर बारीका छेउछाउ पुग्छन्। स्थानीय भाषामा सुनकाउली भनेर चिनिने तेजपातको पात टिप्छन्। घरमा लगेर जम्मा गरी बेचेर दैनिक हजारभन्दा बढी कमाई गर्छन्।

भूमिका सुनार ९ वर्षकी भईन्। उनी कक्षा चारमा पढ्दै छिन्। दैनिक विद्यालयबाट फर्केपछि वा बिदाको समय उनी बारीमा पुगेर सुनकाउली टिप्ने काम गर्छिन्। १ हजार रुपैयाँको सुनकाउलीको पात टिपेर उनले हजारौं रुपैयाँ जम्मा गरिसकेकी छिन्। उनी भन्छिन्, पात टिपेर घर जम्मा गर्ने हो। पैसा पर्छ यसलाई। सिद्धार्थ राजमार्गको सिद्वबाबा क्षेत्रबाट १५ किलोमिटरको दूरीमा तिनाउँको कोलडाँडा क्षेत्र पुग्न सकिन्छ। यस क्षेत्रमा पुग्न कच्चि सडक निकै अप्ठ्यारो छ। अधिकांश यहाँका जनताको दैनिक गुजारा गर्ने माध्यम होइन व्यवसाय नै बनेको छ, तेजपात। हिमाल र तराईका मनोरम दृश्यावलोकन गर्न सकिने यस स्थान कृषि, शिक्षा र स्वास्थ्यका रुपमा भने पछाडी परेको छ।

तिनाउँ गाउँपालिका–४, कोलडाँडाका वडा अध्यक्ष दानबहादुर गाहाले बाल बालिकाले हजार रुपैयाँभन्दा बढीको तेजपात संकलन गर्ने गरेको बताए। ‘तेजपातको राजधानी (पकेट क्षेत्र) घोषणा गरिएसँगै व्यवसायीक रुपमा गरिएको खेतीले गाउँको मुहारनै परिवर्तन गराएको बताए। दिनहुँ जसो पात टिप्यो, बोक्रा तास्यो, सुकायो, संकलन केन्द्रमा पु¥यायो दैनिकीनै यसैमा बित्ने गरेको छ। एक परिवारले वार्षिक रुपमा २ लाख रूपैयाँ भन्दा बढीको तेजपातको कारोबार गर्दछन्,’ गाहाले भने, ‘तेजपातको आम्दानीबाट खर्चिएको रकमले गाउँमा पुग्ने मोटर बाटो निर्माण भएको छ। विद्युतीकरणका लागि समेत ठूलो धन राशि खर्चियो तेजपातका कारण गाउँ बस्तीको मुहार फेरिएको छ।’

पाल्पा जिल्लाबाट वार्षिक ७ करोड बढीको तेजपात र दालचिनी जिल्लाबाट भारत निर्यात भएको छ। जिल्लाको गत पाँच वर्षको तथ्याङ्क अनुसार वार्षिक औसत ७ करोड २५ लाख ६३ हजार ५८० रुपैयाँको निकासी भएको छ। ‘जिल्लाबाट गत ५ वर्षको अवधिमा कुल २४ करोड ३३ लाख ९ हजार १ सयको तेजपात र ११ करोड ९५ लाख ८ हजार ८ सयको दालचिनी किसानले बिक्री गरेका छन्,’ जिल्ला वन अधिकृत दधिलाल कंडेलले भने, ‘जिल्लाबाट आर्थिक वर्ष २०६९–७० देखी गत आवसम्म ४ हजार ८ सय ६६ टन तेजपात र १ हजार १ सय ९५ टन दालचिनी निर्यात भएको हो।’ किसानको निजी वनबाट गत ५ वर्षमा जिल्लाबाट झण्डै ३७ करोड बढीको तेजपात बिक्री भएको छ, कंडेलले भने। जिल्लाको कोलडाँडा, बल्ढेङगढी, सत्यवती, तिनाउ, झडेवा, जल्पा लगायतका स्थानबाट दालचिनी भारत निर्यात हुने गरेको छ। जिल्लाका किसानहरुले औषत ५० रुपैयाँमा तेजपात र १ सय रुपैयाँमा दालचिनी बिक्री गर्ने गरेका छन्।

‘नेपालमा तेजपातको आन्तरिक बजार विकास गर्न सकिएको छैन। सबै भारत निकासी हुने गरेको छ। त्यो पनि २÷३ जना व्यापारीको एकाधिकारमा बजार छ। जिल्लामा गत वर्ष पनि १७ हेक्टर जमिनमा तेजपात रोपण गरिएको छ। किसानहरुले आफ्नो वनको तेजपात अझै टिपेर बजारसम्म पु¥याउन सकेका छैनन्,–वन कार्यालयका सूचना अधिकृत महम्मद अतिउल्लाहले भने। भारतको बजारको २० प्रतिशत बढी माग नेपालबाट धानिरहेको छ। किसानहरुको आयआर्जनको भरपर्दो नगदेबालीका रुपमा तेजपातलाई लिने गरिन्छ। तेजपातलाई औषधी तथा मसला बनाउनमा प्रयोग गरिन्छ।

प्रतिक्रिया दिनुहोस्