प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त भएको पत्र



काठमाडौं : न्याय परिषदका सचिवले प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएको जानकारी गराउँदै पत्र पठाएका छन् । न्याय परिषदका सचिव नृपध्वज निरौलाले बुधबार दिउँसो पराजुलीका नाममा एक पत्र पठाउँदै उनी प्रधानन्यायाधीश पदमा नरहेको जानकारी गराएका हुन् ।

न्याय परिषदका सचिव निरौलाले राष्ट्रपति कार्यालय, संवैधानिक परिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सर्वोच्च अदालत, कानुन मन्त्रालयको नाममा बोधार्थ लेखेर प्रधान न्यायाधीशलाई पदमुक्त गरेको पत्र पठाएका हुन् । सचिव निरौलाले बुझाएको पत्रमा प्रधानन्यायाधीश पराजुली २०७४ साउन २१ गते नै अवकाश भइसकेको उल्लेख गरिएको छ ।

पराजुलीको ६५ वर्षको उमेर २०७४ साउन २१ मा नै पुरा भइसकेको दाबी गरिएको भन्दै पत्रमा सचिवस्तरीय निर्णयबाट पराजुली पदमा नरहने जानकारी गराइएको छ ।

न्याय परिषद्का सचिवले लेखेको पत्रमा उमेरका आधारमा पराजुलीले अवकास पाइसकेको उल्लेख गरिएको छ । ‘न्याय परिषद् ऐन, २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारणले अवकास हुने भएमा सो को जानकारी सम्बन्धित न्यायाधीश र निकायलाई गराउनु पर्नेछ भन्ने प्रावधान रहेको सन्दर्भमा सम्माननीय महोदयको यस न्याय परिषद सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट आजै मिति २०७४/११/३० को च न ४२४/०७४/७५ को प्राप्त पत्र समेतका आधारमा उपरोक्त ऐनको दफा ३१ को उपदफा (७) बमोजिम समेत सम्माननीय महोदयको ६५ वर्षको उमेर २०७४/४/२१ मा नै पूरा भइसकेको देखिन आएकोले आज मिति २०७४/११ /३० को सचिवस्तरीय निर्णयानुसार सम्माननीय महोदय पदमा नरहनु भएको जानकारी गराउँदछु ।’ (अन्नपुर्ण पोस्ट)

 

प्रतिक्रिया दिनुहोस्