नेपालबाट ट्रकोमा (आँखा खस्रो हुने) रोग उन्मूलनको घोषणा भएको छ । विश्वमा अन्धोपनका विभिन्न कारकमध्ये ट्रकोमा पनि प्रमुख कारकको रूपमा थियो । सरकारको लामो प्रयासपछि सो रोग नेपालबाट उन्मूलन भएको हो ।
विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा विश्वबाट ट्रकोमा उन्मूलन गर्ने घोषणा गरे पनि नेपालले २ वर्ष अघि नै नेपालबाट उन्मूलन भएको घोषणासहित प्रस्ताव पठाएको हो । मन्त्रालयका अनुसार स्वास्थ्य मन्त्रालयले उन्मूलन भएको सम्पूर्ण कागजपत्र विश्व स्वास्थ्य संगठनलाई पठाएको छ । विश्व स्वास्थ्य संगठनले सबै प्रक्रिया पूरा गरेको भनी प्रमाणपत्र दिएको खण्डमा मात्रै नेपालबाट ट्रकोमा उन्मूलन भएको औपचारिक घोषणा हुनेछ ।
नेपाल नेत्रज्योति संघको आयोजनामा बुधबार स्वास्थ्य मन्त्रालयले सम्पूर्ण प्रतिवेदन विश्व स्वास्थ्य संगठनलाई हस्तान्तरण गरेको छ । विश्वका ४१ देशमा ट्रकोमा एक प्रमुख स्वास्थ्य समस्याका रूपमा रहेको छ । यही रोगका कारण १९ लाख मानिस दृष्टिविहीन भएका छन् । नेपाल नेत्रज्योति संघका अनुसार विश्व स्वास्थ्य संगठनले सन् ०१६ मा १९ करोड २० लाख मानिस ट्रकोमाको उच्च जोखिमयुक्त क्षेत्रमा बसोवास गरिरहेको उल्लेख छ ।
सन् २००२ देखि राष्ट्रिय ट्रकोमा कार्यक्रम
उपचारको माध्यमबाटै रोकथाम गर्न सक्ने अन्धोपनलाई सन् ०२० सम्ममा देशबाट उन्मूलन गर्ने स्वास्थ्य मन्त्रालयको राष्ट्रिय आँखा स्वास्थ्य कार्ययोजना र नीतिलाई सहयोग पु¥याउने उद्देश्यले नेपाल नेत्रज्योति संघले सन् २००२ देखि ट्रकोमा रोगबाट प्रभावित जिल्लाहरूमा कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।
संघले देशका ७५ जिल्लामा ट्रकोमा रोगको प्रकोपसम्बन्धी सर्वेक्षण सम्पन्न गरेको जनाएको छ । संघका प्रशासन म्यानेजर शेखर शर्माका अनुसार नेपालका प्रभावित २० जिल्लामा विश्व स्वास्थ्य संगठनले निर्दिष्ट गरेको रणनीतिअनुरूप कार्यक्रम सञ्चालन गरेको थियो ।
ट्रकोमाको थ्रेसहोल्ड ५ प्रतिशत
विश्व स्वास्थ्य संगठनले ट्रकोमाको थ्रेसहोल्ड ५ प्रतिशतभन्दा कम कायम गरेको छ । ५ प्रतिशतभन्दा कम ट्रकोमा भएको खण्डमा यसलाई निवारणका रूपमा हेरिन्छ । चिकित्सकहरूले १ देखि ९ वर्षसम्मका बच्चामा यो रोगबारे अध्ययन–अनुसन्धान गरेका थिए । देशभर अध्ययन गर्दा ५ प्रतिशतभन्दा कम देखिएपछि सरकारले विश्व स्वास्थ्य संगठनलाई उन्मूलनको प्रमाणपत्र दिलाउन सिफारिस गरेको हो ।
नेपालमा अछाम, कैलाली, कञ्चनपुर, बैतडी, कपिलवस्तु, दाङ, रोल्पा, दैलेख, रुकुम, सुर्खेत, रसुवा, बारा, पर्सा, चितवन, नवलपरासी, सर्लाही, रौतहट, डोटी, बाँके र बर्दिया गरी २० जिल्ला ट्रकोमाको समस्यामा थिए । सो जिल्लामा समस्या न्यूनीकरण भइसकेको शर्माले बताए । (नयाँ पत्रिका)